धादिङ । अविरल वर्षापछि गएराती आएको पहिरोका कारण उत्तरी धादिङको विभिन्न स्थानमा सात घर बगाएको छ । पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने अन्य चार जना घाईते भएका छन् । नेत्रावती गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा खानियाँबास ५ का राजकुमार गुरुङकी श्रीमती ३३ वर्षीया बसुदा गुरुङ, १० वर्षकी छोरी लक्ष्मी र पाँच वर्षकी छोरी सरस्वतीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी डम्बर बिकले जानकारी दिए । उनीहरुको छोरा १० वर्षका विकास गुरुङ सामान्य घाइते भएका छन् । उनको नजिकको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी खनियाँबास–४ चिउरीबोट गाउँमा पहिरोमा पुरिएर ६० वर्षीय शमशेर घले र उनकी श्रीमती कोप्ची घलेको मृत्यु भएको एसपी विकले जानकारी दिए । एक बालिकाको घाईते अवस्थामा उद्दार गरीएको छ ।

घाइते बालकलाई उपचारका लागी स्थानीय स्वास्थ्य संस्थामा लगिएको स्थानीयबासीले जानकारी दिएका छन् ।

यस्तैपृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडक खण्डको कृष्णभिरमा पनि पहिरो खसेको छ । पहिरोले एउटा कार पुरेको छ भने पहिरोमा एउटा जीप फसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ बेनिघाट रोराङ गाउँपालिका ७ मा पर्ने कृष्णभीरमा बुधबार राति लेदो माटोसहितको पहिरो खसेको बताइएको छ ।

पहिरोमा बा १२ च ३८२१ नम्बरको कार आधा पुरिएको छ भने बा १३ च ५९८३ नं.को जीप फसेको छ । पहिरो पन्छाउने काम भइरहेको छ । देशकै प्रमुख राजमार्ग पृथ्वी राजमार्ग र त्यसमा जोडिएको नारायणगढ–मुग्लिन सडकमा पहिरोको जोखिम धेरै रहेको पनि प्रहरीले जनाएको छ ।

बाटो विस्तारका क्रममा काटिएका पहाड र भित्तोबाट पहिरो खस्दा यो सडक खण्डमा यात्रा जोखिमयूक्त बन्दै गएको छ । राजमार्गका धेरै ठाउँमा पहिरोको जोखिम रहेकाले यात्राका क्रममा सावधानी अपनाउन पनि प्रहरीले आग्रह गरेको छ ।