तीर्थ न्याैपाने
काठमाडाै । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का तकालीन महासचिव तथा जननेता मदन भण्डारीको आज ६७ औं जन्मदिन । भर्खरै एकीकरण भएको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न कार्यक्रम गरी मदन जन्म जयन्ती मनाइरहेको छ । मदन भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।
विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद प्रतिपादन गरेर कम्युनिष्टहरु निरंकुश होइन, लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिवद्ध छन् भन्ने प्रमाणित गरिदिनु भयो । उहाँले प्रतिपादन गर्नु भएको सिद्धान्तकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सफल भयो । मुलुकमा कम्युनिष्ट सरकार बन्ने अवस्था सृजना भयो ।
कम्युनिष्ट सिद्धान्त तथा आफूले प्रतिपादन गरेको जबज देशबासीलाई बुझाउने उदेश्यले देशव्यापी दौदाहा गरिहेकै बेला एमालेका तत्कालीन महासचिव मदन र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५३ साल जेठ ३ गते अकल्पनीय र रहस्य रुपमा निधन भयो । उहाँहरु पोखराको कार्यक्रम सकेर भरतपुरको जनसभालाई सम्बोधन गर्न नारायणगढतर्फ जाने क्रममा दास ढुंगामा दुर्घटनामा पर्नु भयो । जुन दुर्घटना अझै रहस्यमय बनिरहेको छ । दासढुंगा दुर्घटनापछि मलुकले मदन आश्रितलाई गुमायो तर उहाँले प्रतिवादन गरेको सिद्धान्त राजनीतिमा भने झन् अपरिहार्य बन्दै गएको छ ।
जन्मजयन्तीका अवसरमा मदन भण्डारी आयोजना गर्ने ‘ नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठी आयोजना गरको छ । गोष्ठीमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । जबजको जग र सशस्त्र जनयुद्धको अनुभवपछि जेठ ३ गते मदन आश्रित स्मृति दिवस पारेर एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भयो र अहिले नेकपा बनेको छ ।
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल मुलुकमा विभिन्न समूहमा छरिएका कम्युनिष्टहरुलाई एकीकृत गर्न मदन भण्डारीको महत्वपूर्ण भूमिका रहेको बताउनु हुन्छ । ‘उहाँकै सक्रियतामा हामीले २०४७ सालमा नेकपा माले र माक्र्सवादी एकीकरण गरी एमाले बनायौ’ नेता नेपाल भन्नुहुन्छ, ‘उहाँले प्रतिपादन गरेको जबजकै कारण अहिले एमाले र माओवादी केन्द्रको एकता सफल भएको छ ।’
मदनसँग नेता नेपालको राजनीतिमा लामो सहकार्य र सामिप्यता रह्यो । मदन र राष्ट्रपति विद्यादेवीको विवाह समेत नेता नेपालकै रोहवरमा भएको थियो । ‘पार्टीको काममा सक्रिय भइरहेकै बेला उहाँहरुबीच प्रेम भएछ’ नेता नेपालले जनता समाचारसँग भन्नभयो, ‘त्यो थाहा पाएपछि मैले पार्टीमा निवेदन दिन लगाए । त्यसपछि भूमिगत अवस्थामा विराटनगरको गोप्य ठाउँमा उहाँहरुबीच सामान्य ढंगले विवाह भयो । विवाहमा पार्टीको तर्फबाट मैले नै प्रतिनिधित्व गरेँ ।’
नेकपा प्रतिनिधिसभा संसदीय दलका उपनेता सुवास नेम्बाङ नेपालका कम्युनिष्टहरुले जननेता मदन भण्डारीलाई कहिल्यै भुल्न नहुने बताउननु हुन्छ । ‘विश्वमा कम्युनिष्टहरु निरंकुश हुन भनेर आलोचना भइरहेको बेला भइरहेको बेला जननेता मदन भण्डारीले जबज प्रतिवादन गरेको कम्युनिष्टहरु निरंकुश होइनन, लोकतान्त्रिक हुन भन्ने प्रमाणित गरिदिनु भयो’ काेटेश्वरमा बिहिबार बिहान मदनकाे शालिकमा माल्यार्पणपछि उहाँले जनता समाचारसँग भन्नुभयो, ‘उहाँकै कारण नेपालका कम्युनिष्टहरु एकीकृत हुँदै जाने वातावरण बनेको हो । जनता समाचार बाट










