चितवन । चन्द्रमान अनुसार नेपाली पात्रो तथा नेपाली पर्वहरु सुधार गर्दै लैजानुपर्नेमा वेदका अनुसन्धाताहरुले जोड दिएका छन् । चन्द्रमान अनुसार नेपाल पञ्चाङ्ग निर्णायक समितिको पात्रो २६ दिन पछाडि रहेकोले नेपालीहरुले मनाउँदै आएको चाडबाड समेत परिवर्तन गर्नुपर्ने बताइएको हो ।
बिहीबार चितवनको रत्ननगरमा आयोजना गरिएको वैदिक कालगणना सिद्धान्तको औचित्य र अध्यायोपाकर्म विषयक प्रवचन गोष्टीमा वक्ताहरुले गलत तिथिमा गरिने कार्यले अशुभ फल मिल्ने बताए । नित्य कर्म, श्राद्धलगायत अन्य पर्वहरु बिग्रीएकोले यसलाई मिलाउनका लागि बेदाङ्ग ज्योतिष अनुसार पात्रोको तिथि मिलाउनुपर्ने बेदका अनुसन्धानकर्ता बताउँछन् । हामीले गर्ने पूजापाठ गलत तरिकाले गर्दा त्यसले हानी निम्त्याउने पुरोहित ज्योतिषहरुले बताएका छन् ।
प्रत्येक वर्ष २० मिनेटका दरले समयरेखा केन्द्रबिन्दुबाट सर्दै जाने भएकाले ७२ वर्षमा एक दिन घट्ने भएपनि त्यसलाई पञ्चाङ्ग निर्णायक समितिको पात्रोले नमिलाएको ज्योतिषहरुको भनाइ छ ।










