काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयले नेपाली कांग्रेसको औचित्य समाप्त गरिदिएको र ‘आउटडेटेड’ भएको बताएका छन् । बिहीबार राजधानीको सभागृहमा मदन भण्डारीको ६७ औँ जन्मजयन्तिको अवसरमा आयोजित मदन भण्डारी पुरस्कार वितरण र नेपालमा समाजवादको आधार शीर्षको विचार गोष्ठिमा उनले कांग्रेसले अब औचित्य पुष्टि गर्न नसक्ने बताएका हुन् ।

उनले भने, “एउटा समयमा कांग्रेसका आवश्यकता थियो होला, सात सालमा राणा शासन हटाउन उसको भूमिका देखियो होला, सधैँ त्यो भनिरहन मिल्दैन ।” महाभारतको प्रशंग निकाल्दै ओलीले धनुर्धारी अर्जुनसमेतको उपादेयता युद्धपछि सकिएको भन्दै कांग्रेस त्यस्तै लौकिक पात्र भएको जिकिर गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ad ad अधिनायकवादको डर

चुनावताका अधिनायकवादको हौवा पिटाएकै कांग्रेस रामायणकालीन परशुरामजस्तै शक्तिक्षीण भएको र आधा शक्ति क्षय भएको बताउँदै अहिले पनि त्यस्तै कुरा नगर्न आग्रह गरे । उनले सन् २०१८ को अन्तिम सम्म सप्तरीको हनुमाननगरदेखि भारतको कलकत्तासम्म (जहाज) स्टिमर चल्ने बताउँदै पानी जहाज चलाउँछु भन्दा बाल्टीमा कागजका डुंगा चलाउने कांग्रेस कार्यकर्ताले के गर्ने भन्दै चिन्ता व्यक्त गरे ।

उनले दुईवर्ष अघि आफू प्रधानमन्त्री हुँदा दुईवर्षभित्रै सबै तुइन विस्थापित गर्ने अठोट लिएको तर तुइनभन्दा पहिल्यै आफू विस्थापित हुनुपरेको स्मरण गर्दै पुनः तुइन हटाइ छाड्ने अठोट व्यक्त गरे । उनले नेपालमा समाजवादको आधार तयार हुँदै गएकाले समाजवाद आउनेमा ढुक्क हुन आग्रह गरे । “समाजवाद आयो, आयो, कसैले रोक्न सक्दैन,” उनको कथन थियो ।

नेपालका शक्तिशाली दुई कम्युनिस्ट पार्टी मिलिसकेको र दुई तिहाइसमेतको सरकार बनेको परिप्रेक्ष्यमा समाजवाद आउँदैन कि भन्ने द्विविधाको उपयोग नगर्न सबैलाई आग्रहसमेत गरे । एक फरक प्रशंगमा कांग्रेसले आफू सत्ता बाहिर पुग्ने निश्चित भइसकेपछि ढुकुटी टाट उल्ट्याएको र स्रोत भर्ने दायित्व थपिइदिएकाले वृद्धभत्ता बढाउन नसकिएको बताए ।

उनले यसवर्ष वृद्धवृद्धा लक्षित कार्यक्रम राखिएको र आगामी वर्ष वृद्धभत्ता बढाएरै छाड्ने अठोट व्यक्त गरे । त्यस्तै उनले वैदेशिक हस्तक्षेप र नाकाबन्दीको युग समाप्त भएको बताउँदै प्रश्नै उठाउन नपाइने ठानिएको सन् १९५० को सन्धीसमेत पुनरावलोकनको अन्तिम चरणमा पुगेको जिकिर गरे ।

वर्षाद् नजिकिँदै गरेको र भारतीय सीमावर्ती क्षेत्र सधैँ डुवानमा पर्ने गरेकाले यसवर्षबाट त्यसबाट मुक्ति मिलेको उनले बताए । “नेपाल–भारत द्विपक्षीय टोलीले त्यसमा काम शुरू गरी अन्तिम चरणमा पुगेको छ,” उनले भने, “यसपटक तराइ डुबेन भने फेरि अधिनायकवादको खतरा तड्कारो देखियो भन्ने होलान् ।”

उनले कञ्चनपुर, नेपालगञ्ज, जनकपुर, विराटनगरबाट थप हवाइ रुट खोलिएको र भारत–चीन र नेपालबीच सँग बराबरीको हैसियतमा सम्बन्ध सुधार भएको दाबीसमेत गरे । त्यस्तै अर्को प्रशंगमा ०४६ सालको परिवर्तन मदनकै अगुवाइमा सम्पन्न भएको ओलीले बताए । “मदनकै प्रयासबाट कांग्रेस–कम्युनिस्ट मिलेर जाने अवस्था बन्यो । म ठोकुवाका साथ भन्छु– मदन नभइदिएको भए ०४६ सालको परिवर्तन कुनै हालतमा आउँदैनथ्यो,” उनको भनाइ थियो ।

उनले बाहिर सतहका मदन नदेखिए पनि कपालको आधारमा व्यक्तिको मुल्यांकन नहुने बताए । “टाउको बाहिरको कपाल हेरेर हुँदैन विचार भित्र दिमागमा हुन्छ । आन्दोलनमा मदनको भूमिका त्यस्तै थियो,” उनले भने ।

उपेन्द्रको प्रश्न– विभेदको भारी बोकेर कसरी समाजवादमा जाने ?

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विभेद, असमानताको भारी बोकेर समाजवादमा जानै नसक्ने जिकिर गरे । उनले जाति, वर्ग, लिङ्ग, भूगोल, समुदायका नाममा विभेद अद्यावधि जारी रहेको र विकासको कुनै सूचकांकमा मुलुक नपरेकाले समाजवाद निकै टाढाको विषय भएको बताए ।

संघीय समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले समाजवादका लागि समृद्धि पहिलो शर्त रहेको र सामाजिक न्याय, समावेशी लोकतन्त्र नै त्यसको आधार भएको औँल्याए ।

मदन भण्डारीबारे कांग्रेसमा खैलाबैला

तत्कालीन एमालेका महासचिव रहेका मदन भण्डारीबारे आफूले न्युज विकमा आएको अन्तर्वार्ता पढेर जानकारी पाएको कांग्रेस नेतृ सुजाता कोइरालाले जानकारी दिइन् । कांग्रेसका तर्फबाट वक्ताका रूपमा उभ्याइएकी नेतृ कोइरालाले भनिन्, “म त्यतिबेला जर्मन बस्थेँ । न्युज विकको ग्राहक थिएँ । नेपालका कुनै नेताबारे कुनै समाचार छापिँदैनथ्यो । त्यतिबेला मदन भण्डारीको अन्तर्वार्ता प्रकाशित भएपछि उहाँबारे जान्ने मौका पाएँ ।”

अन्तर्वार्ताबाट आफू निकै प्रभावित भएको सन्दर्भ उल्लेख गर्दै नेतृ कोइरालाले मदन भण्डारीको उदीयमान राजनीतिक छविले कांग्रेसमा खैलाबैला भएको स्मरण गरिन् । त्यस्तै उनले मदन–गिरिजा नमिलेको भए ०४६–४७ परिवर्तन सम्भव नभएको बताइन् । “मदन भण्डारीले कांग्रेसमा खैलाबैला ल्याएका थिए, कम्युनिस्ट आन्दोलनमा पनि खैलाबैला ल्याएका थिए, जनता र सिंगो देश आश्चर्यचकित परेको थियो उतिबेला,” उनले भनिन् ।

उनले कांग्रेस– कम्युनिस्ट नमिली पुनः समाजवादमा जान नसकिने बताउँदै त्यसका लागि लोकतन्त्रको विकास अपरिहार्य भएको बताइन् । “लोकतन्त्रको विकासबिना समाजवादमा पुग्न सकिँदैन । त्यसका लागि गिरिजाबाबुले भन्नुभएको सहमति, सहकार्य र एकताकै सूत्र अनुशरण गर्नुपर्छ,” उनको भनाइ थियो ।

‘मदन भण्डारीको हत्यारा पत्ता लगाएरै छाड्छौँ’

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले मदन भण्डारी कम्युनिस्ट आन्दोलनको मात्र नभइ प्रजातान्त्रिक पार्टीहरूसमेतको नेता भएको सन्दर्भ उल्लेख गर्दै उनको रहस्यमय दुर्घटनाबारे यथार्थ पत्ता लगाउनुपर्ने बताए । ने क पाका प्रवक्तासमेत रहेका श्रेष्ठले उनको हत्याको रहस्यबारे पार्टीले पत्ता लगाउने दाबी समेत गरे ।

समाजवादको आधार कसरी तय गर्ने विषयमा भने उनले भ्रष्टाचारको अन्त्य, सुशासन, विधिको शासन नै पहिलो शर्त भएको बताए । सोभियत युनियन खण्डित, पूर्वी युरोपमाकम्युनिस्ट सरकार विघटनपश्चात कम्युनिस्टको इतिहास अन्त्य भएको कतिपयले बताए पनि नेपालमा दुई तिहाइ मत पाएर कम्युनिस्ट सरकारमा जानु सुखद भएको बताउँदै वर्तमान सरकारलाई असफल हुन छुट नरहेको जिकिर गरे ।

वर्तमान सरकार असफल हुँदा मुलुकको सिंगो कम्युनिस्ट आन्दोलन धरासाही हुने उनको भनाइ थियो ।

कार्यक्रममा चित्रकार हरि शर्मालाई यस वर्षको मदन भण्डारी पुरस्कार प्रदान गरिएको थियो भने १४ पटक सगरमाथाको चुचुरोमा पुग्ने लाक्पागेलु शेर्पालाई पनि प्रधानमन्त्रीले दोसल्ला ओढाएर सम्मान गरेको थिए । शर्माले चित्रकलाको माध्यमबाट इतिहास, संस्कृतिको अन्वेषण र शेर्पाले साहसिक आरोहण र मदन भण्डारी स्पोर्ट्स एकेडेको झन्डा सगरमाथाको चुचुरोमा पु¥याएवापत सम्मान गरिएको मदन भण्डारी फाउन्डेसनले जनाएको छ । बार्हखरी बाट