लक्ष्मी काफ्ले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारको वास्तविक परीक्षा शुरु भएको बताएका छन् । साउन १ गतेबाट सरकार तीव्र रुपमा आफ्ना लक्ष्य प्राप्त गर्न लागिपर्ने बताए ।

बिहीबार झापाको चन्द्रगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सरकार कतै नबरालिने स्पष्ट पारे । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत तथा चीन भ्रमणले दुई छिमेकी मुलुकसँगको सम्बन्ध सुदृढ भएको दाबी गर्दै मन्त्री बाँस्कोटाले अब सरकारको ध्यान विकास र सम्वृद्धिमा केन्द्रित हुने उल्लेख गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘एकातिर सम्बन्ध बिग्रिदा अर्कोतिर ढल्किने दिन सकियो, दुई छिमेकी मुलुकको भ्रमणका क्रममा प्रधानमन्त्रीले त्यो तोडिसक्नुभयो,’ मन्त्री बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीको भ्रमणले विकासको गतिमा तीव्र दौडिरहेका दुई शक्तिशाली मुलुकसँग नेपालको सम्बन्ध सुदृढ भएको छ ।’ तातोपानी नाका खुलाउने र दुवैतर्फबाट रेल्वेका कुरा भएकाले अब मुलुकको विकास द्रुत गतिमा हुने उनको दाबी छ ।

छिमेकी मुलुकहरुसँग सम्बन्ध सुदृढ भएकाले अब सरकारको ध्यान आन्तरिक मामिलामा मात्र हुनेछ । प्रधानमन्त्री ओलीको ‘सम्वृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई छिमेकी मुलुकले पनि आत्मसात गर्दै उत्साहित भएकाे बाँस्कोटाले बताए ।

मुलुकमा अब राजनीतिक अस्थिरताको अन्त्य भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले वर्तमान सरकार स्थिर, सुदृढ र स्पष्ट भिजन भएको बताएका छन् । सरकारको मुख्य काम घोषित नीति, उद्देश्य र बजेटको सफल कार्यान्वयन गर्नु नै रहेको उनको भनाइ छ । ‘अब पहिलेजस्तो अरुलाई कुनै आरोप लगाएर उम्किन सक्ने अवस्थामा हामी छैनौँ,’ उनले भने, ‘यो सरकारले प्रतिफल निस्किने गरी काम गर्नेछ ।’

विभिन्न क्षेत्रमा नयाँ परियोजनाहरु सुरु भएकाले त्यसलाई कार्यान्वयन गर्ने सरकारको दायित्व रहेको मन्त्री बाँस्कोटाले स्पष्ट पारे । कानुन निर्माण र योजना कार्यान्वयन गर्दै त्यसमार्फत् सुशासनको माध्यमबाट सम्वृद्धि र खुशीयाली दिनु नै सरकारको उद्देश्य रहेको उनको भनाइ छ । ‘सम्वृद्धि भएर मात्र भएन, समाज पनि खुशी हुनुपर्छ, समाज खुशी हुनका लागि न्यायपूर्ण वितरण प्रणाली स्थापित गर्नुपर्छ,’ उनी भन्छन्, ‘काममा ढिलासुस्ती गर्ने प्रवित्ति तोड्न समन्वयात्मक, एकीकृत र सहप्रयोगसहित मन्त्रालय–मन्त्रालयबिच समन्वय गरेर अघि बढ्ने गरी नयाँ कार्ययोजना बनाइएको छ ।’

सदनमा प्रतिपक्षले उठाएका कतिपय असल कुरालाई पनि यथोचित स्थान दिइने उनले बताए । विकासमा सत्तापक्ष र प्रतिपक्षा नहुने उनको भनाइ छ । सरकारको नीति तथा कार्यक्रम कार्यान्यवन गर्ने पहिलो जिम्मेवारी कर्मचारीतन्त्रको हुने भएकाले अहिले सरकारले स्थानीय तहदेखि प्रदेश र संघसम्मै कर्मचारीको काम र कर्तव्यको टुंगो लगाइरहेको उनले बताए । नयाँपत्रीका बाट