दाङ । दाङको भालुवाङमा महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेहरुलाई ६ महिना कैद र २५ हजार जरिवाना हुने भएको छ ।
कुटपिटमा संलग्न दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङकी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्तालाई स्थानीय प्रशासनले कैद र जरिवाना तोकेको हो ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले गुप्ताद्वयलाई ६ महिना कैद, जनही २५\२५ हजार जरिवाना र ७ हजार ८ सय २० रुपैयाँ उपचार खर्च भराउने फैसला गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
जेठ २५ गते दिउँसो दिलमाया पुन भालुवाङस्थित आफ्नो जग्गा हेर्न आएको मौका छोपी जबरजस्ती घडेरी बेच्न कर गरेका थिए । दिलमायाले जग्गा बेच्दैन भन्दाभन्दै गुप्ताका जेठानी दिदी बहिनीले कुटपिट गरेका थिए ।
प्रहरीले सोही दिन सामान्य झगडा भन्दै मिलापत्र गराएर छोडेको थियो । तर, दुई महिलाले “निर्वस्त्र” पारी अमानवीय ढंगले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो सार्वजनिक भएपछि प्रहरीले जेठ २७ गते गुप्ताद्वयलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो ।










