काठमाडौं, १४ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिसहित समाजवादको आधार तयार पार्ने आफूहरूको पूर्वप्रतिवद्धतालाई व्यावहारिक रुपमा कार्यान्वयन गरेरै छाडिने दृढता व्यक्त गर्नुभएको छ ।
जननेता मदन भण्डारीको ६७ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आज काठमाडौंमा आयोजना गरेको ‘नेपालमा समाजवादका आधार’ विषयको विचार गोष्ठी एवं मदन भण्डारी राष्ट्रिय पुरस्कार अर्पण समारोह’लाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘नेपाली जनताले कम्यूनिस्ट आन्दोलनले मात्रै आर्थिक समृद्धि दिन सक्छ, समाजवादको आधार तयार पार्न सक्छ भनेर जिम्मा दिएका छन् । त्यो कार्यभार हामी पूरा गर्छौं ।’
वर्तमानको आवश्यकता नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको विकास, राष्ट्रिय एकता, सामाजिक न्याय, सुशासन र समृद्धिको भएकाले त्यसलाई कार्यान्वयन गरिने प्रधानमन्त्रीको भनाइ थियो । समाजवादलाई कोही कसैले रोक्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘समाजवाद आउँछ, आउँछ, अब कोही कसैले रोक्न सक्दैन । जनताका सामु गरेका प्रतिबद्धता र जिम्मेवारी शालीनतापूर्वक हामी पूरा गर्छौं ।’
नेकपाको सरकारलाई केही राजनीतिक शक्तिले गलत व्याख्या गरेको र अधिनायकवादको हल्ला गरेकामा आपत्ति प्रकट गर्दै उहाँले भन्नुभयो, ‘हामीले कसैले ल्याइदिएको लोकतन्त्रको उपयोग गरिरहेका छैनौं । आधा शताब्दीसम्म आफैंले लडेर, दुःख कष्ट सहेर, निर्वासन र भूमिगत बसेर ल्याएको राजनीतिक व्यवस्था र प्रणालीको उपयोग गरिरहेका छौं । कोही कसैले चित्त नदुखाए हुन्छ ।’
प्रधानमन्त्री ओलीले पछिल्लो समयमा छिमेकी देशसँग समानताका आधारमा सम्बन्ध विकास गरिएको, पारस्परिक लाभलाई हेरेर व्यवहार गरिएको र नेपालको आफ्नो स्वतन्त्र पहिचान स्थापित भएको स्पष्ट पार्नुभयो । बाह्य हस्तक्षेप र प्रभावको अन्त्य भएको तथा छिमेकीका चासो र चिन्तालाई सम्बोधन गरिएको उल्लेख गर्दै उहाँले नेपालको विकास र समृद्धिमा छिमेकीलाई पनि साथमा लिएर जाने वातावरण बनेको बताउनुभयो ।
नेपाललाई एकाध वर्षमा विकासको मार्गमा अगाडि बढाउन सकिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘दूरदर्शी नेतृत्व क्रियाशील छ । नेकपाले दृष्टिकोणसहित नेतृत्व गरेको छ । केन्द्र, संघ र स्थानीय तहमा दुईतिहाइभन्दा बढीको जनमत छ । सही बाटो पहिल्याएर अगाडि बढेका छौँ । त्यस कारण हामी सफल हुन्छौँ ।’
ढुकुटी रित्तो भएकाले वृद्ध भत्ता बढेन
प्रधानमन्त्रीले मुलुकको ढुुकुटी रित्तो भएका कारण आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न नसकिएको स्पष्ट गर्नुभयो । आगामी वर्षदेखि सामाजिक सुरक्षा भत्ता र अन्य सुविधा वृद्धि गर्दै लैजाने प्रधानमन्त्रीको धारणा थियो ।
भानु जयन्तीका अवसरमा असार २९–३१ गते नेपालमा नेपाल, भारत र डायस्पोराका स्रष्टाहरू सम्मिलित ‘हिमवत्खण्ड कलासाहित्य सम्मिलन’ हुन लागेको जानकारी दिँदै उहाँले चन्द्रागिरिमा हुने कलासाहित्य कार्यशालामा आफू पनि सहभागी भई कविता रच्ने जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक मूल्यलाई स्थापित गर्दै नेपाली मौलिकतासहितको समाजवाद निर्माणमा लाग्नुपर्नेमा जोड दिए । नेकपा नेतृत्वको वर्तमान सरकारलाई असफल हुने कुनै छुट नभएको स्पष्ट पार्दै उनले भने, ‘नेपाली जनताका सपना पूरा भएनन् । समाजवादको आधार तयार भएन भने त्यसबाट नेपाली कम्यूनिष्ट आन्दोलनले ठूलो धक्का खान्छ । देश नै बर्बाद हुन्छ । सरकारले हरहालतमा पनि जनतालाई सेवा दिनुपर्छ ।’ सबै प्रकारको विभेदको अन्त्य गरेर २१ औं शताब्दीअनुकूल समाजवाद स्थापनाका लागि नेतृत्वले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले सबै वर्ग, क्षेत्र तहलाई समान अधिकारका साथ आर्थिक रुपमा सम्पन्न बनाउन सके मात्रै समाजवाद प्राप्त गर्न सकिने बताए । सामाजिक न्याय, विभेदको अन्त्य, गरिबी उन्मूलनमा विशेष जोड दिन सबैको साथ र सहयोग रहनुपर्ने अध्यक्ष यादवको भनाइ थियो ।
नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले धेरै पछि बलियो सरकार बनेकाले राम्रा काममा सबैले साथ दिनुपर्ने बताइन् । कोइरालाले भनिन्, ‘सरकारले पनि सबैलाई साथमा लिएर उनीहरूको विचारको समेत सम्मान गर्दै एकता, सहकार्यको मार्गमा अगाडि बढ्नुपर्छ । त्यसो भए नेपाली जनताले खोजेको समृद्धि प्राप्त हुन सक्छ ।’ लोकान्तर बाट साभार










