काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र जान्छ भन्ने हल्लाको पछि नलाग्न सुझाव दिएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै उनले अधिनायकवाद आउँछ भन्नु ‘चाइने क्यारे माने’ जस्तो भएको बताए । उनले उदाहरण दिँदै भने,‘बजारमा तरकारी किन्न जानेले चाइने क्यारे माने यो देऊ, ऊ देऊ भनेजस्तो अधिनायकवाद आउँछ भनेर हाउगुजी फैलाइयो ।’
लोकतन्त्र किस्तिमा सजाएर दिएको कसैले नदिएको भन्दै उनले सबैको बलिदान र रगतले ल्याएको लोकतन्त्र उपभो गरेको बताउँदै थपे,‘अब यो लोकतन्त्र जान्छ भनिएको छ, के चाहीँ आउँछ ? कहाँबाट आउँछ ?’
लोकतन्त्रका लागि ४५/५० बर्षदेखि आफुहरुले गरेको संघर्षलाई स्मरण गरेका उनले त्यसका खतहरू बाँकी नै रहेको टिप्पणी गर्दै थपे,‘त्यसबेला देखिका हाम्रा आफ्नै भोगाई र पीडा छन् । लोकतन्त्र बलियो बनाउन सक्छौं, आजको आवश्यकता त्यो हो । फेरि लोकतन्त्र जान्छ क्यार भन्ने शंका छ । लोकतन्त्र जान्छ भने आउँछ के ?’
केटाकेटीलाई हाउगुजी देखाए जस्तो लोकतन्त्र जान्छ भनी भ्रम फैलाउने कुरा देशका लागि हितकर नभएको बताएका उनले थपे,‘३६ सालतिर चुपलाग चुप लाग जनमत संग्रह भाँडिन्छ भन्ने चलन चलेको थियो, अहिले त्यस्तै भएको छ ।’
संसदमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले व्ंयग्यात्मक जवाफ फर्काउँदै धने,‘प्रधानमन्त्री गाडीमा चढेर हिँडछ यो अधिनायकवादको खतराको संकेत हो भनिन्छ । कास्की कोटको राजा, गोरखाको राजा गाडी चढ्दैनथ्यो । कासीकोटमा घोडा त जान मुस्किल थियो अनि कसरी गाडी चड्थ्यो ।’
प्रधानमन्त्री ओलीले संसदमा विभिन्न विषयको जवाफ पनि दिएका छन् । उनले सिन्डिकेट तोडिएको पनि बताएका थिए ।
-दैनिक नेपाल बाट साभार









