फलेवास- श्रीमानले अन्याय गरेको भन्दै श्रीमतीले उजुरी दिने गरेको कुरा त नौलो होइन तर, पर्वतमा भने पहिलोपटक पत्नी पीडित भएको भन्दै दुईवटा उजुरी परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतकी महिला तथा बालबालिका सेवा केन्द्र इञ्चार्ज रचना थापाका अनुसार महिला सेलमा दुई जना पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै न्यायका लागि उजुरी दिएका छन्। न्यायका लागि उजुरी दिनेमा जलजला गाउँपालिका–२ धाइरिङका एक पुरुष र कुश्मा नगरपालिका–१ पाङका अर्का पुरुष छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरु दुवै जनाले श्रीमतीले छोराछोरी पालनपोषणमा ध्यान नदिएको र घरभन्दा बाहिर बढी समय दिने गरेको भन्दै न्यायका लागि उजुरी दिएका हुन्। उजुरीउपर जिल्ला प्रहरी कार्यालय पर्वतले पाँङका पीडित पुरुषका श्रीमान श्रीमती दुवै जनालाई कार्यालयमा बोलाएर मिलापत्र गराएको छ भने जलजलाका पत्नी पीडित व्यक्तिको मुद्दा अझै कानूनी प्रक्रियामा छ।

यस्तै सेवा केन्द्रमा आव २०७४/७५ मा जेठ महिनासम्म ५९ वटा घरेलु हिंसा सम्बद्ध उजुरी दर्ता भएका छन्। उक्त उजुरीमध्ये प्रहरी आफैँले ४१ वटा उजुरी मिलापत्र गराएको छ भने सातवटा उजुरीमा मिलापत्र गराउन नसकेपछि अदालतमा पठाएको छ।

त्यसैगरी, आठवटा उजुरी कानूनी प्रक्रियामा छन् भने तीनवटा उजुरी दिएका व्यक्ति सम्पर्कमा नआएको महिला तथा बालबालिका सेवा केन्द्र इञ्चार्ज थापाले बताए। नागरिक न्युज बाट साभार