काठमाडौं । सामान्यतया संसद् बैठक दिउँसो बोलाइन्छ त्यसका लागि सभामुखको अनुकुल समय र सांसदहरुको सहजता हेरिन्छ, मध्यरातमा संसद्को पहिलो बैठक बोलाइयो भन्दा अचम्म लाग्ला तर २०१६ सालमा यस्तै भएको थियो । अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।

२०१६ साल असार १६ गते राति ११ बजेर ५५ मिनेट जाँदा संसद्को बैठक बसेको थियो । तत्कालीन राजा महेन्द्रले संसद् बैठक नबोलाउँदा ढिलो गरी बैठक चलेको थियो । राजाले बैठक बोलाउनुपर्ने थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर राजाले बैठकप्रति चासो नदेखाएपछि ४ महिना ७ दिन पछि मात्र संसदको बोलाइएको थियो । ‘महेन्द्रले त्यो संसद् टिकोस् भन्ने चाहनुभएको थिएन त्यसैले मध्यरातमा ‘कू’ को साइतमा बैठक बोलाइएको भन्ने सुनिएको छ’, पूर्वसांसद मञ्चका महासचिव शंकरनाथ शर्मा अधिकारीले भन्नुभयो– ‘त्यो संसद् पनि लामो समयसम्म चल्न सकेन, बीचैमा ‘कू’ गरियो, प्रधानमन्त्रीबाट बीपीलाई हटाइयो ।’

आज ६०औं संसद् दिवस मनाइँदै छ । २००७ साल फागुन ७ गते १ सय ९ निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, नेपाल राष्ट्रिय गोर्खा परिषद्, नेपाल प्रजा परिषद् (घन कोदालो), नेपाल प्रजा परिषद् (हलो) र संयुक्त प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका थिए । नेपाली कांग्रेसका सांसद भरतकुमार साहले निर्वाचन हारेका कृष्णप्रसाद भट्टराईलाई सभामुख बनाइएको बताउनुभयो ।

‘भट्टराइले निर्वाचन हार्नुभएको थियो । सबैको साझा व्यक्ति बन्न सकून् भनेर किसुनजीलाई सभामुख बनाइएको हो’, साहले भन्नुभयो– ‘महेन्द्र सुवर्ण शमशेरलाई प्रधानमन्त्री बनाउन चाहन्थे तर पार्टी भने बीपी कोइरालालाई प्रधानमन्त्री बनाउन चाहन्थे त्यसमा पनि धेरै विवाद भयो ।’ बीपी प्रधानमन्त्री हुनुभयो । शमशेरले ३ वटा क्षेत्रबाट निर्वाचन जित्नुभएको थियो । साहले १८ महिना मात्र संसद् रहेको बताउनुभयो ।

२०५७ सालमा स्थापना भएको पूर्वसांसद मञ्चले सांसदको हकहितको पक्षमा बोल्दै आएको छ । मञ्चका कार्यक्रम निर्देशक रमेश थापाले पटकपटक सांसदहरुले संसदीय गतिविधि र प्रक्रियालाई सहयोग हुने गरी काम गर्दै आएको बताउनुभयो । ‘न्यूनतम सेवासुविधाका कुरा पनि उठेका छन् तर सरकार र संसद् सचिवालयबाट त्यति पहल भएजस्तो छैन’, थापाले भन्नुभयो– ‘साँच्चै भन्ने हो भने धेरै सांसदको जीवन चल्न नै समस्या छ, सबैलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन, सरकार सभामुख र संसद्ले यसतर्फ ध्यान दिन जरुरी छ ।’

मञ्चमा झन्डै ५ सय पूर्वसांसद रहेका छन् । मञ्चमा रहेकामध्ये प्रतिनिधिसभामा ३४ र राष्ट्रिय सभामा १ जना सांसद रहेका छन् । २०७० सालको संविधानसभाका सभासद् डा. शिवजी यादवले सबैको साझा थलोका रुपमा मञ्च रहनुपर्ने बताउनुभयो ।