नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले काठमाण्डु उपत्यकामा विरोध प्रदर्शन गर्ने स्थान तोकेको विषयमा आपत्ति जनाएका छन् ।

सरकारले काठमाण्डु, भक्तपुर, ललितपुरमा विरोध प्रदर्शन स्थल तोेकिदिएको छ । तोकेको स्थानभन्दा बाहिर प्रदर्शन गरेमा कानुनी कारवाही गर्ने घोषणा गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संयोजक भट्टराईले नाम उल्लेख नगरी आफ्ना सहयोद्धा तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई संकेत गर्दै दुस्साहसपूर्ण निर्णय भनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा ‘समाजवाद भनेको अझ उन्नत लोकतन्त्र हो, लोकतन्त्रको थप विस्तारीकरण र सवलीकरण हो । विरोध गर्ने र सत्ता विरुद्ध विद्रोह गर्ने अधिकार नै माक्र्सवादको गुदी कुरा हो । हाम्रा पूर्व कमरेडहरुले सत्तामा पुग्ने बित्तिकै विरोध गर्ने ठाउँ तोक्ने दुस्साहस गरेर किन आफ्नो खाल्डो आफै खन्दैछन?’ लेखेका छन् ।

सरकारले माइतीघर मण्डलामा गत वैशाख १६ गतेदेखि नै प्रदर्शन गर्न रोक लगाएको छ । काठमाण्डुमा प्रदर्शन र सभाका लागि खुलामञ्च, तीनकुनेको खाली जग्गा, स्वयम्भू, पेप्सीकोलाको खेलमैदान, लैनचौर खेलमैदान र गौशाला सिफलचौर तोकिएको छ ।

यसैगरी ललितपुरमा च्यासलको खेलमैदान, गोदावरी बसपार्क नजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, बज्रबाराही, लुभुको ससमुचौर, धोविघाट नजिकैको मलपोखरीको खुला ठाउँलाई प्रदर्शन र सभास्थल तोकिएको छ ।

भक्तपुरमा भने सल्लाघारीको नेपाल ट्रष्टको खाली जग्गामा मात्र विरोध प्रदर्शन र सभा गर्न पाइने छ ।

यो निर्णय आउँदो साउन १ गतेदेखि लागु हुने र अटेर गर्नेलाई कानुनअनुसार कारवाही गर्ने चेतावनी गृहमन्त्रालयले दिएको छ ।