भारतीय जनता पार्टीका उपाध्यक्ष मध्येका एक नेपाल मामिला जानकार भगतसिंह कोसियारी र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलबीच आइतबार बिहान भेटवार्ता भएको छ ।
प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का भारतीय पक्षका संयोजक कोसियारी नेपाल–भारत नवौं बैठकका लागि आएका हुन् । इपीजीले शनिबार नेपाल भारत सन्धि सम्झौता पुनरावलोकनका लागि साझा प्रतिवेदन तयार पारेको भोलीपल्ट कोसियारीको भेट पोखरेलसँग भएको हो ।
नेपाल–भारत १९५० को शान्ति तथा मैत्रीसन्धि पुनरावलोकनमा भारत सहमत भएको बताइएको छ ।
पोखरेलको निजी निवास धापासीमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकारका कार्ययोजना, दुई देशबीचको सम्बन्ध, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलगायतका विषयमा छलफल भएको थियो ।
कोसियारीले आगामी दिनमा दुई देशका बीचमा समस्या नआउने गरी सुझाव तयार गरेर प्रतिवेदन निर्माण गरिएको बताएका छन् । कोसीयारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट नेपाल मामिला हेर्ने राजनीतिक व्यक्ति पनि हुन् ।
भारतविचको सम्वन्धलाई बलियो र सुमधुर बनाइराख्न राजनीतिक तहमा पनि नियमित भेटघाट, अन्तक्रिया र छलफल हुन जरुरी रहेको उपप्रधानमन्त्री पोखरेलले बताए । दैनिक नेपाल बाट साभार










