राजविराज : कानुन व्यावसायीले इजलाश वहिष्कारलाई निरन्तरता दिँदै आन्दोलन चर्काएपछि सर्वोच्च अदालतले आइतबार साँझ तीनजना न्यायाधीशको सरुवा गरेको छ।

सर्वोच्च अदालतले साँझ उच्च अदालत राजविराज इजलाशका न्यायाधीश मोहनबहादुर कार्की, सल्लाहउद्धिन अख्तर सिद्धिकी र नसरुल्लाह अन्सारीको काज सरुवा गरेको रजिष्ट्रार रोशनकुमार भट्टराईले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्कीको जनकपुर उच्च अदालत, सिद्धिकीको सर्वोच्च अदालत र अन्सारीको दिपायल उच्च अदालतमा काज सरुवा भएको छ। राजविराज उच्च अदालत बार एशोसिएसनले ६ दिनदेखि गरेको इजलाश बहिष्कारका कारण न्यायसेवा प्रभावित हुँदै आएको छ।

मंगलबारदेखि इजलाश बस्न नसक्दा तीन सयदेखि तीनसय ५० मुद्दा स्थगित गर्नुपरेको रजिष्ट्रार भट्टाराईले बताए। उनले सोमबारदेखि इजलाश सञ्चालन हुने अपेक्षा गर्दै बेञ्चमा पेशी तोकिने बताए।

कानुन व्यावसायीले सातै जना न्यायाधीशको सरुवा र आर्थिक चलखेलमा संलग्न दोषीमाथि कारवाहीको माग राख्दै आएका छन्।

बार एशोसिएसनका सचिव विमलकुमार साहले मागमध्ये आंशिक पूरा भएपनि मुख्य माग बाँकी रहेको बताए। सर्वोच्च अदालतको प्रारम्भिक निर्णय सकारात्मक रहेको प्रतिक्रिया दिँदै उनले यो निर्णयले इजलाश सञ्चालनको वातावरण सहज बनेको र सोमबार कानुन व्यावसायीको बृहत भेलाले इजलाश सञ्चालनबारे निर्णय लिने बताए। अन्नपूर्ण पोस्ट बाट