काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले साँसदहरुले आफूलाई विकाशका नायकका रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन्।
नेपाल कम्यूनिष्ट पार्टीका प्रदेश नं १बाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग आइतबार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मन्त्री कुनै क्षेत्रको मात्र होइन देशको हो। मन्त्रीको जिम्मेवारी देशैभरीका विकास निर्माण हेर्ने हो।त्यसकारण विकासको नायक भएर प्रस्तुत हुने बेला आएको छ।’
प्रधानमन्त्री ओलीले गाउँगाउँमा सरकारको नीति तथा कार्यक्रमका बारेमा जनतालाई बुझाउने,सरकारका कामकारबाही बारे जनतामा सन्देश प्रवाह गर्ने काम साँसदहरुले गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए।बजेट विनियोजनमा केही कमिकमजोरी भए त्यसलाई आगामी बर्षको बजेट सच्याउनु पर्ने प्रधानमन्त्री ओलीले बताए।
साविकका सरकार भन्दा यो सरकार फरक रहेको बताउँदै उनले नेपाल नयाँ ठाउँमा भएकोले यस्तो अवस्थामा केही चुनौती भए पनि देशलाई अघि बढाउने सम्भावना अधिक भएको दाबी गरे। उनले भने, ‘विगतमा व्यवस्था परिवर्तन,संगन निर्माण र प्रचारका काम धेरै गरियो । अब त्यतिले पुग्दैन । जनताले देखिने गरी परिणाम दिनुपर्दछ।’
उनले हिजो भ्रष्टाचार रोक्नु पर्छ भन्दा पनि आज भ्रष्टाचार साँच्चिकै रोक्ने जिम्मेवारी अहिले नेतृत्वको काँधमा आइपरेको जिकिर गरे। उनले भने, ‘नयाँ परिस्थितिसँग मिल्नका लागि सबै साँसदहरुलाई आधुनिक प्रविधिसँग परिचित हुन र सुचनामा अद्यावधिक हुन आग्रह गर्दछु।’ यसका साथै उनले सरकारका काम कारबाहीका बारेमा प्रतिपक्षले लगाएका आरोपको कडा प्रतिवाद गर्न सांसदहरुलाई निर्देशन समेत दिए।
जनताले कम्यूनिष्ट पार्टीलाई दिएको अभिभारा सरकारले मात्र पुरा गरेर नहुने भन्दै उनले भने, ‘जनताको यो अभिभारा सरकारको एक्लो प्रयासले मात्र सफल हुदैन यसमा सांसदहरुको महत्वपूर्ण भूमिका हुन्।’
मन्त्रीहरुका कार्यशैलीका बिषयमा साँसदहरुले उठाएको प्रश्नमा प्रधानमन्त्रीले आफू गम्भिर रहेको बताउँदै कसैले क्षेत्र जित्ने देश हराउने गरी काम गरेमा त्यो बिषय गम्भिर हुने चेतावनी दिए।
सरकारलाई असफल हुने छुट नभएको भन्दै प्रधानमन्त्री ओलीले जनतामा आशावादीताको सन्देश प्रवाह गरेर विकास र समृद्धिको यात्रामा अघि बढाइने प्रधानमन्त्री ओलीको भनाइ छ। अन्तरक्रियामा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ,प्रमुख सचेतक देवप्रसाद गुरुङ,राष्ट्रिय सभाका प्रमुख सचेतक दिनानाथ शर्मा लगायतको उपस्थिती थियो।
प्रधानमन्त्री ओलीले सातै क्षेत्रका साँसदहरुसँग पालैपालो हरेक हप्ता अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। हरेक शुक्रबार हुने भनिएको अन्तरक्रिया गत शुक्रबार संघीय संसदको बैठक लम्बिएकोले हुन सकेको थिएन। आगामी शुक्रबार प्रदेश नं २ का साँसदहरुसँग प्र्रधानमन्त्रीको अन्तरक्रिया हुनेछ। देशसन्चार बाट साभार










