प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा आफ्नै गाउँबाट लखेटिएका छन्। आइतबार भेटघाट कार्यक्रमको लागि मुजा पुगेका मन्त्री बोहोरालाई आफ्नै निर्वाचन क्षेत्र रहेको रामारोशन गाउँपालिकाको मुजाबाट स्थानीय नेता–कार्यकताहरुले लखेटेका हुन्।
मन्त्री बोहोरा आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटमा मनोमानी रुपमा योजना र बजेट विनियोजन गरेको, चुनावको बेला जनतासँग गरेको प्रतिवद्धताविरुद्ध रामारोशन क्षेत्रलाई बजेटमा उपेक्षा गरेको, आफ्नो र स्वकीय सचिवको गाउँमा आवश्यकभन्दा बढी योजना पारेको भन्दै मन्त्री बोहोरालाई कार्यक्रममै कालोझण्डा देखाउँदै कार्यकर्ताले लेखेका थिए।
मन्त्री बोहोराले जनयुद्धको आधार क्षेत्र रामारोशनलाई उपेक्षा गरेर आफ्नो र स्वकीय सचिवका गाउँमा मात्रै योजना पारेकाले आफूहरुले कालोझण्डा देखाएको रामारोशन गाउँपालिका वडा नम्बर ६ का पूर्व माओवादी केन्द्रका गाउँपालिका इन्चार्ज सुशील साउदले बताए। उनले जनतासँग चुनावको बेला गरेको प्रतिवद्धता अनुसार बजेट नआएकोले आक्रोसित जनताको नेतृत्व आफूहरुले गरेको बताए।
त्यस्तै सोही गाउँपालिका वडा नम्बर ७ का स्थानीय नेता बिर्ख भण्डारीले मन्त्री बोहोरालाई चुनावको बेला आफूहरुले जनतासँग भोट मागेको तर चुनाव जितेपछि छोटै समयमा जनतालाई भुलेर केही स्वार्थको पछि लागेकोले आफूहरुले विरोध गरेको बताए ।
पूर्व माओवादी केन्द्रका स्थानीय नेता खडक रोकायाले मन्त्री बोहोराले अछाममा बढी बजेट पारेको भनिएपनि पर्यटकीय क्षेत्र रामारोशनलाई उपेक्षा गरेको बताए । “बोहोराजी जनताको भोटले जिते तर बजेटमा दलालहरु र विचौलियाको प्रभावमा परेर बजेट बाँडे, आफ्नो गाउँमा मात्रै १४ करोड र स्वकीय सचिवको गाउँमा ९ करोड बजेट हाले तर रामारोशन क्षेत्रलाई उपेक्षा गरेका कारण विरोध गर्न बाध्य भएका हौं” रोकायाले भने ।
सोही गाउँपालिका वडा नम्बर ५ का स्थानीय नेता तथा पूर्वजनमुक्ति सेनाका कम्पनी कमाण्डर रकेट रोकायाले मन्त्री बोहोराले जनताको मतको अपमान गरेको बताउँछन्। पुर्ख्यौली सम्पत्ति जस्तो गरी बजेट र योजना बजेट बाँडेकोले आफूहरु विरोधमा उत्रेको बताए। उनले बजेट असमान ढंगबाट आएको भन्दै सच्चाउन आफूहरुले सुझाव दिँदा पनि अटेर गरेकोले मन्त्री बोहोरालाई रामारोशन निषेध गरिएको बताए। उनले प्रचण्ड रामारोशन आएको बेला आवश्यकताको आधारमा बजेट र योजना पार्ने प्रतिवद्धता जाहेर गरेको तर मन्त्री बोहोराले उपेक्षा गरेको बताए।
मन्त्री बोहोराले आफ्नो गाउँमा १४ करोड र स्वकीय सचिव आदर्श साउदको गाउँमा ९ करोड बजेट हालेपछि अछामस्थित पार्टीका नेता–कार्यकर्ता विरोधमा उत्रेका छन्। उनीहरुले मन्त्री र स्वकीय सचिवको गाउँमा आवश्यकता भन्दा बढी मनोमानी रुपमा बजेट पारेको दाबी गर्दै आएका छन्।
मुजाबगर बजारबाट लखेटिएका मन्त्री बोहोरा असुरक्षा भएको भन्दै अछामबाट कैलालीतिर लागेको बताइएको छ। मन्त्री बोहोरा पुग्ने बित्तिकै स्थानीय नेता–कार्यकर्ता र जनताले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेपछि कार्यक्रम बिथोलिएको छ। नेपाल खबर बाट साभार










