अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैजनाथ गाउँपालिकाका इन्जिनियर मजिद खाँलाई रु २५ हजार घूस लिएको अभियोगमा पक्राउ गरेको छ ।इन्जिनियर खाँले माटो कटान तथा ग्राबेल सडक निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घूस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा यही असार १५ गते पक्राउ गरिएको भए पनि आयोगले आइतबार सार्वजनिक गरेको हो ।

इन्जिनियर खाँलाई कोहलपुर नगरपालिका–४ मदनचोकस्थित सार्वजनिक प्रतीक्षालयबाट घूस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।यस्तै, आयोगले आजै महानगरीय अपराध महाशाखा, टेकु काठमाडौँमा कार्यरत प्रहरी नायब निरीक्षक महेश सिंहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, आयोगले आजै बाँकेको जानकी गाउँपालिका–२ स्थित श्री माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष हरिचन्द्र काँदुले उक्त पदमा निर्वाचित हुँदा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।काँदुले पेश गर्नुभएको माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाई स्कूल तह उत्तीर्ण गरेको भन्ने शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगको दाबी छ ।उता मनराजी देवी मा।वि। मर्चवारी, रूपन्देहीमा कार्यरत प्राथमिक शिक्षक सत्यधामा यादवले स्थायी अध्यापन अनुमति पत्रको प्रमाणपत्र नक्कली बनाई भ्रष्टाचार अभियोगमा आयोगले आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।