काठमाडौँ - मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकाले देशका अधिकांश स्थानमा आगामी तीन दिनसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले एक विज्ञप्ति जारी गर्दै तीन दिनसम्म हल्कादेखि मध्य र केही स्थानमा भारी वर्षा हुने सम्भावना औँल्याएको हो । मनसुन पूर्ण रुपमा सक्रिय भएकाले अबको केही दिन वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तीन दिनसम्म लगातार वर्षा भए पनि दिउँसो पख केही बेर वर्षा रोकिने र विशेष गरी साँझ, राति र बिहान वढी वर्षा हुने उहाँको भनाइ छ । पूर्व, मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहन मौसमविद्ले आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभाग, विज्ञान महाशाखा÷बाढी पूर्वानुमान शाखाले पनि आज बाढी बुलेटिन जारी गरी देशका अधिकांश भेगमा वर्षा र पश्चिमी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार सबै प्रमुख नदीमा जलसतह बढ्दो क्रममा रहेको छ । सोमबार पनि देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा पश्चिम, मध्य र पूर्वी भागको मध्यपहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।

-अविरल वर्षासँगै बगेको पहिरोका कारण यहाँको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन् । पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै बस्तीतर्फ झरेपछि स्थानीय प्रशासनले उनीहरुलाई आज उद्धार गरी चन्द्रदेवी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो । विसं २०२८ देखि बग्दै गएको पहिरोबाट पीडित किम्ताङबासीलाई यसवर्ष वर्षा शुरु हुनुपूर्व नै बलच्युङ र खरबारीबाट झरेको पहिरोले बस्तीमा क्षति पु¥याएकाले त्यहाँ रहेका १७ घरधुरीका करीब १०० जनालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका उपाध्यक्ष शान्ति गुरुङले जानकारी दिए । उनका अनुसार शुक्रबार रातिदेखि बग्न शुरु गरेको पहिरोले खेत बगाएर आइतबार राति बस्तीसम्म पुगेकाले उनीहरुलाई आज विद्यालयमा स्थानान्तरण गरिएको हो । पहिरोले घरमा क्षति पु¥याउन थालेपछि गाउँपालिका र वडा कार्यालयको पहलमा पहिरो पीडित सूर्यमान तामाङ, बुद्धे तामाङ, हरिप्रसाद घले, दलबहादुर तामाङ, देसीमायाँ तामाङ, फुलबहादुर तामाङ, धनसिंह तामाङ, सिंकर तामाङलगायतका परिवार विद्यालयमा आश्रित छन् । पहिरोले घरमा क्षति पु¥याएको निमा लामा तामाङ, मोई घले, सोनम तामाङ, आइतराम तामाङ, कमानसिंह तामाङ, आइतमान तामाङ, गंगामायाँ घले, छन्त लामा तामाङ र धनमायाँ घलेको परिवारलाई पनि विद्यालयमा सारिएको छ ।

-दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन् । महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली, नगवा, कुम्हाल टोल, प्रगतिनगर लगायतका वडाका बस्ती डुबानमा परेका हुन् । वर्षाको पानी घरमै पसेपछि सर्वसाधारणलाई खाना बनाउनसमेत समस्या भएको वीरगञ्ज महानगरपालिका–११ श्रीपुर निवासी मनोज महतोले बताए । सडकको पानी जम्मा भएकाले विद्यार्थीलगायत सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । पानीको अभाबमा धानको रोपाइँ मात्र २ प्रतिशत भएको यस जिल्लामा दुई दिनदेखि परेको आकासे पानीले रोपाइँ हुने वातावरण बन्दै गएपछि यहाँका किसान हर्षित भएका छन् ।

-अविरल वर्षाले वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् । नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए । बुढाको खोजी भइरहेको छ । आइतबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका छन् ।

-आइतबार रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खहरे खोलामा आएको बाढीका कारण माडी नगरपालिका–३ र ६ जोड्ने रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको हो । पुल भत्किँएसँगै भरतपुर माडी–ठोरी खण्डमा सवारी सञ्चालन हुन सकेका छैनन् । इलाका प्रहरी कार्यालयसँगै रहेको सो पुल बिहान ९ बजे भत्किएको प्रहरीले जनाएको छ । माडी क्षेत्रमा वर्षा नरोकिएका कारण खोलामा पानीको बहाब उच्च भएको छ ।

-गातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा समेत पानी जमेकाले सवारीसाधन आगमनमा समस्या भइरहेको हो । मिर्चैयाको थाना चोक एरिया र बजार एरियाको अधिकांश घरमा पानी पसेको छ । वर्षाले मिर्चैयाका सडक तथा बाटो जलमग्न र हिलाम्य भएको छ । नगरभित्र ढल तथा पानी निकासको लागि नालाको उचित व्यवस्थापन नहुँदा सामान्य वर्षा हुँदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ । अविरल वर्षाका कारण जिल्ला मिर्चैयाको साथै गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ ।

-आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ । पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी जान सकेका छैनन् भने पैदलयात्रीलाई अप्ठेरो भएको छ । नेपालगञ्जका विभिन्न सडक तथा नाली निर्माणको कार्यले ढल निकासको व्यवस्थापन नहुँदा पानीको मुहान थुनिएर पानी जमेको हो । वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ । बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह दुई मिटर पुगेको छ । कुसुममा साढे पाँच मिटर सतह पुग्ने बित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन ।

-नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएकोछ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । सरकारले उच्च जोखिममा रहेका भनिएको सडकखण्डमध्ये यो एउटा सडकखण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ ।

-सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडकमा लेदो माटो र ढुंगासहितको पहिरो निरन्तर खस्ने क्रम नरोकिएकोले वर्षाका कारण पहिरो हटाउने कार्य अझै शुरु भएको छैन । सामान्य वर्षा हुने बित्तिकै सिद्धार्थ राजमार्गको उक्त क्षेत्रमा पहिरो खस्ने भएकाले यो राजमार्ग निक्कै जोखिमपूर्ण मानिन्छ । यस वर्षमात्र उक्त क्षेत्रमा पहिरोका कारण यसअघि राजमार्ग करीब चार पटक अवरुद्ध भइसकेको छ । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

सतर्कता अपनाउन आग्रह मौसम विभागले निरन्तर वर्षाको सम्भावना रहेका कारण देशका पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहाव बढ्ने खतरा अनुमान गरेको छ । आइतबार कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव बढ्दो क्रममा रहेको छ । कमला नदी जलाधारको केही स्थानमा भारी वर्षा भइसकेकाले बहाव एक्कासि बढ्ने र घट्ने अनुमान गरिए पनि सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको छ ।

यस्तै सोमबार कोसी, नारायणी, कर्णाली र महाकाली नदीमा बहाबले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ । नारायणी र यसका शाखा नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ । महाभारत र चुरेबाट बहने विरिङ, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायत अन्य नदीमा बहाव सतर्कता तहसम्म पुग्ने सम्भावना रहेको छ ।

मंगलबार कोसी, नारायणी, कर्णाली र महाकालीमा बहाबले सतर्कता तह पार गर्ने सम्भावना नदेखिएको प्रायः सबै मुख्य नदीमा बहाव विस्तारै घट्दै जाने अनुमान महाशाखाको छ । आइतबार गोरखा, धादिङ, लमजुङ, कास्कीको केही स्थान तथा सोमबार गोरखा, धादिङ, लमजुङ, कास्कीको अतिरिक्त काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, दोलखा र आसपासका जिल्लाका केही स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहाडका साना नदीमा पनि एक्कासि बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यसैगरी चुरे र महाभारतबाट बग्ने प्रायः नदीमा बहाव बढ्ने क्रममा हुने अनुमान गरिएकाले तराई, चुरे र मध्यपहाडी क्षेत्रका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा बसोवास गर्ने नागरिकलाई आइतबार र सोमबार सजकता अपनाउन भनिएको छ । आइतबार र सोमबार बागमती र नारायणी आसपासमा पनि सतर्क रहन आग्रह गरिएको महाशाखाको विज्ञप्तिमा भनिएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी भैरहवामा ६३, पोखरामा ६२, सिमरामा ५१, धनकुटामा २७ तथा विराटनगर र धनगढीमा १०÷१० मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा ४ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम तापक्रम २७ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । रातो पाटि बाट