सुर्खेत– मानसरोबर पुगेका दुई जना भारतीय तीर्थयात्रुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार मानसरोबर तिर्थयात्राका लागि आएका भारतीय नागरिकको मृत्यु भएको हो।

कैलाश यात्रा गरेर सिमकोट फर्किएका केरलाका लीला नारायणन मंडरेथ र आन्द्रप्रदेशका सत्यलक्ष्मी नारायण सुब्बाको मृत्यु भएको हो। मंडरेथ लेक लागेर होटलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार बिहान ११ बजेतिर होटल गेटवेमा आफ्नो कोठामा बसेकै बेला उनको मृत्यु भएको हो। सत्यलक्ष्मीनारायणको भने तिब्बतको ताक्लाकोटमा हृदयाघात कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रविन श्रेष्ठले जानकारी दिए।

मृतक सुब्बको शव मंगलबार बिहान हेलिकोप्टरमार्फत सिमकोट ल्याइएको थियो। दुवै शवलाई मंगलबार नै नेपालगन्ज लगिसकिएको उनले देशसञ्चारलाई बताए।

नेपालस्थित भारतीय राजदूतावासले मृतकका शवलाई भारत लैजाने समन्वय भइरहेको जनाएको छ।

यसैबीच निरन्तर चारदिनदेखि परेको अविरल वर्षाका कारण मानसरोवर तिर्थ यात्राका लागि गएका भारतीय पर्यटक हुम्लामा अलपत्र परेका छन्। चीनको कैलाश मानसरोवर दर्शन गएका तिर्थयात्रीहरु जहाज नचल्दा सिमकोट र हिल्ला नाकामा अलपत्र परेका हुन्।

पर्यटन मन्त्रालयले नेपाली सेना र स्थानिय प्रशासन सँगको समन्वयमा पर्यटकको उद्दार गरिरहेको पर्यटन मन्त्री रबिन्द्र अधिकारी जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सबै तिर्थयात्री प्रशासनको सम्पर्कमा रहेको बताए। मंगलबारमात्रै हिल्साबाट १ सय ५० जना तिर्थयात्री सिमिकोट आएको उनले जानकारी दिए। ‘निरन्तर वर्षा हुँदा जहाज उड्न नपाएपछि बाटोमा हराएका भारतीय पर्यटकको उद्दार गरिएको छ’, उनले भने, ‘उनीहरु कोही हिल्साका होटलमा र केही सिमकोटकै होटलमा जहाज कुरेर बसिरहेका छन्, उनीहरु सुरक्षित छन्।’

उनका अनुसार १ सय ४ तिर्थयात्रीहरु मंगलबार नै नेपालगन्ज पठाइएको छ। लगातार वर्षाको कारण असार १५ गतेदेखि हवाई उडान नभएपछि तीर्थयात्रीहरु हिल्सा र सदरमुकाम सिमकोटमै अलपत्र परेका छन्।

भारतीय दूतावसले ४ सय भारतिय पर्यटक हिल्सामा, ५ सय भन्दा बढी तिब्बतमा र करिब ५ सय ५० पर्यटक सिमिकोट रहेको जनाएको छ। देश संचार बाट साभार