काठमाडौं - प्रहरी निकाय स्थापनाका लागि प्रदेश २ ले प्रहरी सेवा ऐन विधेयक प्रदेशसभामा पेस गरेपछि नेपाल प्रहरीले गृह मन्त्रालयसँग आपत्ति जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।
नेपाल प्रहरीको संरचना मुलुकको संघीय संरचनाअनुसार नै बनिरहेको र संघीय प्रहरी ऐनसमेत तयार हुँदै गरेको अवस्थामा प्रदेश २ ले हतारमा संविधानसँग बाझिनेगरी प्रहरी ऐन ल्याउन लागेको भन्दै आपत्ति जनाएको हो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईलाई भेटेर सो विषयमा प्रहरीको धारणा स्पष्ट पारिसकेका छन् ।
संघीय प्रहरी ऐनको मस्यौदा केन्द्रमा छलफलकै क्रममा रहेको र अन्य प्रदेशले पनि संघीय प्रहरी ऐन नै कुरिरहेको अवस्थामा प्रदेश २ ले हतार गरेर प्रहरी सेवा ऐनको विधेयक प्रदेशसभामा पेस गरिसकेको छ। ‘ऐन ल्याउने, पास गराउने अधिकार प्रदेश सरकारलाई छ तर कस्तो विधेयक बन्यो भन्ने विषयले हामीलाई झस्काएको छ।
यसैबीच केहि दिन अघि २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफै प्रहरी भर्ना गर्ने र ५० प्रतिशत महिलालाइ आरक्षण दिने बताएका थिए । त्यहि अनुसार सरकारले आवश्यक बिधेयक पेस गरेपछि नेपाली प्रहरीको नेतृत्व झस्केको बताईएको छ ।









