काठमाडौं, २० असार – निर्माणको जिम्मा पाएर समयमा काम पूरा नगर्ने निर्माण व्यवसायी (ठेकेदार)लाई छुट नदिइने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । सम्झौता उल्लंघन कानूनकै उल्लंघन भएको उनको भनाइ छ ।

प्रतिनिधिसभाको बुधवार बसेको बैठकमा गृहमन्त्री थापाले सरकारले भ्रष्ट र तस्करलाई छुट नदिने बताए । ‘निर्माणको जिम्मा लिएर समयमा काम नगर्नु पनि कानूनको उल्लंघन हो, सम्झौता उल्लंघन कानूनविपरीत हो,’ उनले भने, ‘कानून तोड्ने कुनै ठेकेदारलाई छुट दिने पक्षमा सरकार छैन, उनीहरू जनता र कानूनको कठघरामा उभिनुपर्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गृहमन्त्री थापाले सबै प्रकारका निर्माण व्यवसायी नभइ सम्झौता पालना नगर्ने ठेकेदार मात्र कारवाहीको दायरामा आउने बताए ।

‘ती ठेकेदार जसले समयमा काम पूरा गरेका छन् उनीहरूलाई सम्मान गर्नुपर्छ, हामीले विकासविरोधी जनविरोधी ठेकेदारको विरोध गरेका हो,’ मन्त्री थापाले भने, ‘तिनीहरूलाई कारवाही गर्दा पनि कानूनसम्मत ढंगले गर्ने हो ।’ गृहमन्त्रीले ठेकेदारलाई कारवाहीको कुरा गर्दा सत्तारुढ दलका सांसदहरूले ताली बजाएका थिए ।

ठेकेदारले समयमा काम नगर्दा हरेक वर्ष सडक दुर्घटनामा दुई हजारभन्दा बढीको ज्यान जाने गरेको मन्त्री थापाले बताए ।

‘माननीय सदस्यहरूले काम नगर्ने ठेकेदारलाई शुरु गरेको कारवाहीबाट सरकार पछाडि हटेको हो कि भनेर प्रश्न गर्नुभएको छ,’ मन्त्री थापाले भने, ‘विकास र समृद्धि लोकतन्त्रसंग जोडिएको प्रश्न हो, कुनै प्रकारको सम्झौताबाट पछि हट्ने भन्ने प्रश्नै उठ्दैन ।’

यसअघि गृहमन्त्री थापाले समयमा काम नगर्ने ठेकेदामाथि शुरु गरेको कारवाही किन रोकिएको भनेर सांसदहरूले संसदको बैठकमा कुरा उठाउँदै आएका थिए ।