काठमाडौँ, २१ असार । प्रदेश ४ को नाम गण्डकी राख्न लागिएकोप्रति आदिवासी जनजाति महासंघसहित विभिन्न आदिवासी जनजाति संगठनहरुले विरोध जनाएका छन् ।
बिहीबार संयुक्त विज्ञप्ति निकालेर उनीहरुले प्रदेश ४ को नाम तमुवान मगरात नराखी गण्डकी राख्न खोजिनु एकात्मक, केन्द्रीकृत र नश्लवादी चिन्तन भएको आरोप समेत लगाएका छन् ।
बुधबार प्रदेशसभा ४ को सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीले प्रदेशको नाम गण्डकी राख्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै प्रदेश ४ को नाम गण्डकी नै रहने पक्का भएको छ । गण्डकी नामको विपक्षमा नयाँ शक्ति पार्टी नेपालका दुई सांसद मात्र छन् ।
आदिवासी जनजाति महासंघ, तमुह्युल छोँध धी गुरुङ राष्ट्रिय परिषद, नेपाल मगर संघ, नेवाः देय् दबु, नेपाल तामाङ घेदुङ, किरात याक्थुङ चुम्लुङ र नेपाल शेर्पा संघले संयुक्त विज्ञप्ति जारी गरी ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी प्रदेश ४ को नाम ‘तमुवान–मगरात’ नामाकरण गर्न प्रदेश आग्रह गरेको छ ।
‘प्रदेशको नामाङ्कनका लागि प्रदेशसभाद्वारा गठित समितिको प्रतिवदेनको समेत अवमूल्यन गर्दै त्यस प्रदेशमा ‘तमुवान–मगरात’को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी प्रदेशसभाले एकात्मक र केन्द्रीकृत, नश्लवादी चिन्तनले ग्रसित भई सुनियोजित ढंगले तथाकथित ‘गण्डकी’ प्रदेश नामाकरण गर्न लागेको खबरप्रति सम्पूर्ण आदिवासी समुदाय यो प्रक्रियाको तिब्र भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
आदिवासी जनजाति संघसंस्थाले अंक गणितको दम्भमा जनभावना विपरीत प्रदेशसभाले गलत निर्णय गर्न गएको भन्दै उक्त निर्णयबाट उत्पन्न परिणामको जिम्मेवारी प्रदेश सरकार र प्रदेश संसदले लिनुपर्ने चेतावनी पनि दिएका छन् ।
हेर्नुहोस् विज्ञप्ती
आदिवासी जनजाति संघसंस्थाहरुको तर्फबाट जारी संयुक्त प्रेस विज्ञप्ती
प्रदेश नं. ४ प्रदेशसभाले संविधानको धारा २९५ (२) बमोजिम प्रदेशको नामाङ्कन गर्न गइरहेको समाचारहरू विभिन्न सञ्चार माध्यममा आएको खबरप्रति कूल जनसंख्याको ३७ प्रतिशत भन्दा बढी आदिवासी जनजाति जनताको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रदेशको नामाङ्कनका लागि प्रदेशसभाद्वारा गठित समितिको प्रतिवदेनको समेत अवमूल्यन गर्दै त्यस प्रदेशमा ‘तमुवान–मगरात’को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी प्रदेशसभाले एकात्मक र केन्द्रीकृत, नश्लवादी चिन्तनले ग्रसित भई सुनियोजित ढंगले तथाकथित ‘गण्डकी’ प्रदेश नामाकरण गर्न लागेको खबरप्रति सम्पूर्ण आदिवासी समुदाय यो प्रक्रियाको तिब्र भत्र्सना गर्दछ ।
प्रदेशसभाको यसखालको निर्णय २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, सशस्त्र माओवादी जनयुद्ध, आदिवासी जनजाति आन्दोलन, मधेस विद्रोह, सरकारबीच भएको बिगतको सहमति/सम्झौता, दलहरूले निर्वाचनमा जनतासँग गरेका प्रतिवद्धताहरू, मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय दस्ताबेजहरू र नेपालको संविधान २०७२ को प्रस्तावना र भावना एवम् संघीयताको मूल मर्म र भावना बिपरित रहेको हाम्रो ठहर छ ।
आदिवासी जनजाति आन्दोलनको समसामयिक प्रमुख मुद्धा भनेको पहिचान र अधिकार नै हो भन्ने कुरा जगजाहेर छ । तसर्थ, यस प्रदेश नं. ४ को नामाङ्कन ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी ‘तमुवान–मगरात’ नामाकरण गर्न प्रदेश संसद र सरकारलाई हामी हार्दिक अपिल गर्दछौं । पहिचानको मूलभूत सिद्धान्तलाई भुलेर प्रदेश सरकार अघि बढे देश र जनताका लागि गम्भीर ऐतिहासिक भूल हुने स्मरण गराउँदछौं । साथै प्रदेश संसदको यसखाले कदमले वर्तमान राज्य सरकारले परिकल्पना गरेको स्थायी शान्ति सहितको समृद्ध नेपाल र सुखी नेपालीको कार्यभार पुरा हुन नसक्ने र मुलुक फेरि द्वन्द्वतिर जाने समेत अवगत गराउँदछौं । अंक गणितको दम्भमा जनभावना विपरित प्रदेशसभाले गर्न गइरहेको गलत निर्णयबाट उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवारी स्वयम् प्रदेश सरकार र संसद हुने समेत सचेत गराउँदछौं ।
तसर्थ, आदिवासी जनजाति आन्दोलनको पहिचान र अधिकारका मुद्धाहरू सम्बोधन नहुञ्जेल आदिवासी जनजातिमाथि हुने सबैखाले विभेदको विरुद्ध सशक्त ढंगले प्रतिकार गर्नका लागि तयारी रहन सम्पूर्ण आदिवासी जनजातीय सदस्य संगठनहरू, महासंघका प्रदेश, जिल्ला र स्थानीय तह (महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका र वडा) समन्वय परिषद्हरू, विदेश शाखाहरू, सम्बन्धन संगठनहरूलगायत आदिवासी जनजातिका क्षेत्रमा क्रियाशील संघ/संस्थाहरू र सम्पूर्ण आदिवासी जनतालाई विशेष आग्रह सहितको जानकारी गराउँदछौं ।
धन्यवाद । जय आदिवासी जनजाति ।
श्री जगतबहादुर बराम, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ श्री रेशम गुरुङ, अध्यक्ष, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् श्री नवीन रोका मगर, अध्यक्ष, नेपाल मगर संघ श्री नरेश ताम्राकार, अध्यक्ष नेवाः देय् दबु श्री मोहन गोले तामाङ, अध्यक्ष, नेपाल तामाङ घेदुङ श्री योगराज वनेम लिम्बू, अध्यक्ष, किरात याक्थुङ चुम्लुङ श्री लाक्पा शेर्पा, वरिष्ठ उपाध्यक्ष, नेपाल शेर्पा संघ










