भरतपुर महानगरको गाडी केही दिन अघि दुर्घटनामा परेको खुलेको छ।
महानगरको ना १झ १६०७ नम्वरको गाडी आइतवार राति साँढे १ बजे तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस छेउबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो।
गाडीमा पाँच जना ब्यक्तिहरु घुम्न तनहुँ गएको र उनीहरुले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ। गाडी भरतपुर महानगरपालिका वडा नः ११ बस्ने गणेश आचार्यले चलाएका थिए । दुर्घटनामा कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ।
गाडी सडकबाट करिब एक सय मिटर तल झाडीमा खसेको र दुर्घटनाको भोलिपल्ट चालकले खबर गरेपछि मात्रै जानकारी पाएको प्रहरीले जानकारी दियो। कच्याककुचुक अवस्थामा रहेको गाडी बाहिर निकालिएको छ। दुर्घटनामा परेको गाडी आँबुखैरेनी प्रहरी कार्यालयमा राखिएको छ।
गाडीमा सवार ब्यक्तिहरु कोही पनि महानगरका पदाधिकारी र कर्मचारी होईनन्। गाडी महानगरका लेखा उपसचिव खडानन्द अधिकारीले चढ्ने गरेका थिए।
चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर अनुसन्धान भैरहेको जनाइएको छ। नेपाल खबर बाट










