प्रदेश नं ७ को आज बसेको प्रदेशसभा बैठकको विशेष समयमा नेपाली काँग्रेसका भरतबहादुर खड्काले डोटीको आदर्श गाउँपालिकामा दुई दिनअघि करेण्ट लागेर मृत्यु भएका चार जनाको परिवारलाई उचित क्षतिपूर्ति, मृतकका बालबच्चाको पालनपोषण र घटनामा घाइतेको उपचारका लागि उचित व्यवस्था गर्न माग गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाकी पूर्णा जोशीले कुटपिटबाट घाइते भई पक्षाघातको समस्या भोगिरहेका शिक्षक अर्जुन बोहराको उपचारमा सहयोग गर्न, कुटपिट गर्ने दोषी पत्ता लगाई कारवाही गर्न र असारमा आएर विकासका नाममा हतार हतारमा बजेट खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्न ध्यानाकर्षण गराएका हुन ।
सम्बन्धित समाचार :
करेन्ट लागेर चार जनाको घटनास्थलमै मृत्यु
उनले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको एक महिना भइसक्दासम्म यसको जानकारी अहिलेसम्म पनि सम्बन्धितले नपाउनुको कारण के हो भन्ने प्रश्न गर्दै प्रदेश सरकारलाई आफ्नो प्रणाली र संयन्त्रलाई चुस्त दुरुस्त बनाउन माग गरे ।
सभामुख अर्जुनबहादुर थापाले विशेष समयमा उठान भएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीलाई सभामा सात दिनभित्र दिन ‘रुलिङ’ गरेका छन । बैठकमा सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रस्तुत गरेका थिए । प्रदेशसभाको अर्को बैठक यही असार २२ गते अपराह्न ३ बजे बस्नेछ । रासस










