झापाका प्रहरी प्रमुख एस पी बिष्णु केसीले स्थानीय सरकारले शान्ति सुरक्षालाई प्राथमिकतामा नराखेको गुरासो गरेका छन । राज्यको संरचनामा तीन तहको सरकार भनिएता पनि स्थानीय सरकारका रुपमा रहेको नगरपालिका र गाउँपालिकाको बजेट निती तथा कार्यक्रमले शान्ति सुरक्षाका सम्बन्धमा सम्बोधन गर्न नसकेको प्रहरी प्रमुख केसीले बताए ।
सुरुङ्गामा आयोजित एक कार्यक्रममा बोल्दै प्रहरीका मुख्य तीनवटा काम अपराध नियन्त्रण, अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम राख्ने बाहेक पनि अन्य थुप्रै काम प्रहरीले गरिरहेको भए पनि त्यसका लागि कहिं कतैबाट बजेट बिनियोजन नगरिएको बताए ।
आगामी आर्थिक बर्षका लागि स्थानीय तहहरुले बजेट सार्वजनिक गरिरहेका बेला कसैले पनि शान्ति सुरक्षाका लागि कार्यक्रम नल्याएको एस पी केसीले दाबी गरे । एस पी केसीले भने–‘सरकार भन्ने बित्तिकै शान्ति सुरक्षा महत्वपुर्ण पाटो भएता पनि अहिलेसम्म स्थानीय सरकारले त्यस तर्फ ध्यान पु¥याएको छैन ।’
झापामा २०४३ सालकै दरबन्दी अनुसार अहिलेसम्म पनि प्रहरी परिचालन गरिएकाले पनि समस्या भएको प्रहरी प्रमुख केसीले बताए । उनका अनुसार अहिलेकै संरचनाबाट प्रहरीले मात्रै जिल्लाको शान्ति सुरक्षा कायम राख्न सभ्भव छैन ।
झापा प्रहरीमा सवारीको गति मापन गर्ने राडार गन दुई थान मात्र रहेको छ भने मादक पदार्थ सेवन गरेर सवारी चलाउनेको जाँच गर्ने बेथलाईजर मेशिन नभएका कारण मुखले सुँगेर चेक जाँच गर्नु परेको समेत प्रहरी प्रमुख केसीले सुनाए ।
प्रहरीसंग जनशक्ति भए पनि बजेट नभएकाले कार्यसम्पादनमा समस्या भएको केसीले बताए । केसीका अनुसार पढेलेखेका युवा समुहले नै सबैभन्दा बढी ट्राफिक नियमको उल्लघंन गर्ने गरेका छन ।झापाटाइम्सबाट










