दमक/झापाको दमकस्थित कान्तिपुर एजुकेशन फाउण्डेशनले इपिएस प्रणाली अन्तर्गत गएको जेठमा लिइएको कोरियन भाषा परीक्षा उत्तिर्ण विद्यार्थीहरुका लागि प्रशिक्षणमुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

फाउण्डेशनले आज आयोजना गरेको कार्यक्रममा भाषा परीक्षा उत्तिर्ण गरेका विद्यार्थीहरुले कोरिया जानका लागि र त्यहाँ पुगेपछि पालना गर्नुपर्ने काम , कर्तव्य र उनीहरुको अधिकारका बिषयमा समेत जानकारी गराइएको छ । त्यस अवसरमा लामो समय कोरियामा रोजगारी गरेर फर्किएका र विगत आठ बर्षदेखि कोरियन भाषा प्रशिक्षकका रुपमा काम गर्दैै आएका राम पौडेल र झापा मिलन समाज कोरियाका पूर्व अध्यक्ष समेत भई कोरियामा झण्डै ८ बर्ष रोजगारी तथा पत्रकारिता गरेर फर्किएका मिनप्रकाश उप्रेतीले विविध बिषयमा प्रशिक्षण दिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रोजगारीका लागि कोरिया जान भाषा परीक्षा उत्तिर्ण मात्रै पर्याप्त नभएको र त्यसका अलावा विभिन्न चरणहरु पार गर्नुपर्ने कार्यक्रममा बताइयो । रोजगारीमा जाने प्रकृया, त्यहाँ पुगेपछि थाहा पाउनै पर्ने नियम, कानुन, व्यवहार गर्ने शैली, आफूले आर्जन गरेको रकम कसरी सञ्चित गर्ने , काम र मनोरञ्जनको समयलाई कसरी व्यवस्थापन गर्ने जस्ता बिषयमा सहभागिहरुलाई प्रशिक्षित गराइएको फाउण्डेशनका अध्यक्ष समेत रहेका कोरियन भाषा प्रशिक्षक पौडेलले बताउनु भयो ।

फाउण्डेशनका सञ्चालक तथा शिक्षक तारा प्रसाद भट्टराईको अध्यक्षतामा सो कार्यक्रममा यस पटकको भाषा परीक्षामा सो फाउण्डेशनमा अध्ययन गरेका कूल १ सय २१ जना विद्यार्थी उत्तिर्ण भएका जनाइयो । गत बर्ष सो फाउण्डेशनले ११४ जनालाई उत्तिर्ण गराएको थियो । ति मध्ये अधिकांश कोरियामा रोजगारीका लागि गएका र केहि जाने प्रकृयामा रहेका बताइएको छ ।