जनकपुरधाम,– प्रधानमन्त्री केपी शर्मा ओलीका भाषण र अभिव्यक्तिले धेरैलाई ठूल्ठूला सपना देख्न सिकाएको छ । प्रधानमन्त्री ओली समेत ठूल्ठूला सपना देख्नेभित्र पर्छन् ।
धनुषाको धनौजी गाउँपालिका–१ लखौरीका १९ वर्षीय शिवकृष्ण पण्डित पनि सपना देख्ने विद्यार्थी हुन् । उनले सडकमा गुड्ने मोटरसाइकल विस्थापित गर्न आकाशमा उड्ने मोटरसाइकल बनाउने सपना देखेका छन् । यो ठूलो सपना पूरा गर्ने बाटोमा हिँड्न पण्डित अहिले व्यक्तिगत प्रयासमा मनोरञ्जनात्मक खेलौना बनाएर प्रतिभा देखाइरहेका छन् । तर, उनले आफ्नो ठूलो सपना पूरा गर्न ओली सरकारबाट सहयोगको आशा गरेका छन् ।
विगत ६ महिनादेखि अनवरत प्रयास गरेपछि उनले गाउँमै स्थानीय सामग्रीको प्रयोग गरेर विभिन्न मेसिनरी खेलौना बनाएका छन् । उनले बनाएको चारपांग्रे गाडी आकारको खेलौना पानी र माटोमा सजिलै गुड्छ । ‘यो खेलौना गाडीमा लगाइएको व्याट्रीलाई सोलार वा विद्युत्बाट रिचार्ज गर्नु पर्दैन, खेलौनाले आफूलाई चाहिने चार्ज आफैं प्राप्त गर्दछ,’ पण्डित भन्छन् ।
सरकारी निकायले आफ्नो मेहनतलाई हेरेर आवश्यक सहयोग गर्नुपर्ने उनले बताए । ‘मैले बनाएको खेलौनालाई सरकारले १ पटक हेरोस्, म यस्ता थुप्रै खेलौना मात्र होइन, धेरै कुरा अविष्कार गर्न सक्छु । जसबाट देशको विकास हुन् सक्छ,’ उनले भने, ‘राज्यले यदि सहयोग गर्यो भने ठूला खेलौना मात्र नभएर राज्यलाई आवश्यक विभिन्न सामग्री समेत बनाउन सक्छु ।’
पानी र जमिन दुवैमा गुड्न सक्ने खेलौना बनाएको बताउँदै उनले त्यसैलाई आधार बनाएर त्यस्तै सवारीसाधन निर्माण गर्न सकिने बताए । ‘जुन सवारीसाधन मालसामान ढुवानी गर्नका लागि समुद्रमा पनि चलन सकियोस् र जमिनमा पनि,’ उनले भने ।
उनले हावामा उड्न सक्ने मोटरसाइकल बनाउने सपना देखेका छन् । ‘मलाई थाहा छैन कि उड्ने मोटरसाइकल बनाउने मेरो सपना पूरा हुन सक्छ कि सक्दैन । तर, मेरो अठोट भने त्यस्तै प्रकारको छ,’ उनले भने ।
विज्ञान संकाय पढिरहेका उनी १२ कक्षामा ‘व्याक’ लागेर खाली बस्दा मन नलागेपछि आविष्कारिक खेलौना बनाउनतिर लागेका छन् । उनका बुवा शिवचन्द्र पण्डित वैदेशिक रोजगारीमा छन् । विगत ३ वर्षदेखि उनका बुवा कतारमा कार्यरत रहेपनि खेलौना निर्माणका लागि आर्थिक समस्या भएकाले राज्यले सहयोग गरिदिए धेरै ठूलो उपकार हुने उनले गुहार गरेका छन् ।
उनी कुम्हार जातिका हुन् । तराइमा माटोको भाँडा, मूर्ति लगायतका सामान बनाउने जाति हो कुम्हार समुदाय । त्यसैले पनि उनले बाल्यकालदेखि नै केही अविष्कार गर्न सकिन्छ भन्ने सोच रहेको बताए । धनुषाको परवाहाबाट प्राथमिक शिक्षा प्राप्त गरेका उनी २०७१ सालमा शंकर जनता माबिबाट एसएलसी उत्तीर्ण भए । त्यसपछि जनकपुरको संकटमोचन उच्च माविमा विज्ञान संकायबाट उनी अध्ययनरत छन् ।लोकान्तर










