सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले पत्रकारहरुले समाचार लेख्दा आफैँले स्वनियमन गर्नुपर्ने बताएका छन् । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री बास्कोटाले पछिल्लो समय फस्टाएका अनलाइनलहरुले सामाजिक मर्यादा भुलेर जथाभावी लेख्ने गरेको गुनासो गरे । सामाजिक सञ्जालसमेत गाली गलौज गर्न प्रयोग हुने गरेको बताउँदै अब सजग हुने बेला आएको उल्लेख गरे ।

‘सामाजिक सञ्जाल र अनलाइनलाई एउटै आँखाले हेर्न सकिँदैन’, उनले भने, ‘तर, पछिल्लो समयमा बढेका विकृतिले यी दुवैलाई हामीले कडा नियमन गर्ने बेला भएको छ ।’ मन्त्री बास्कोटाले अचेल सरकारले केही कुरामा कडाइ गर्न खोजेमा अधिनायकवाद आयो भन्ने प्रवृत्ति बढेको भन्दै कांग्रेसप्रति कटाक्ष गरे । ‘सामाजिक सञ्जाल र अनलाइनको मनपरी रोक्न खोज्यो भने अधिनायकवाद आयो भन्छन्’, उनले भने, ‘तर, अब अनलाइनहरुले स्वनियमन गर्नुपर्छ, सरकारले नियन्त्रण गर्नेबारे सोचेको छैन तर आफैँ सुध्रिने प्रयास हुनुपर्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केही अनलाइन तथा सामाजिक सञ्जालमा प्रधानमन्त्री र राष्ट्रपतिको बदनाम गर्ने गरी जथाभावी लेख्ने गरिएको उनले बताए । ‘प्रधानमन्त्रीबारेमा के भनियो ? राष्ट्रपतिको बारेमा के लेखियो ? यसले सबैलाई पिरोलेको छ’, उनले भने, ‘आफूलाई पर्दा कानुन चाहिन्छ भनिन्छ तर अरुलाई असर पर्दा ठीकै भो भनिने प्रवृत्तिले हामीलाई सताएको छ ।’