दमक–रवि सडकको चतुरे खण्डमा होटल व्यवसाय गर्दै आएका रोशन राई यति बेला फुर्सदिला छन् । हिउँदमा खचाखच हुने उनको फोमी भ्यु होटल ठप्प भएपछि उनीसँगै उनका ४ कामदारलाई कामको चटारो भने छैन ।

दमक–रवि–राँके खण्डमा केही दिनयता यात्रुवाहक सवारीसाधन चल्न थालेपछि उनको व्यवसाय ठप्प भएको हो । उनी जस्तै यो सडकको आसपास होटल गर्ने सवै व्यवसायीको अवस्था पनि उस्तै छ । सडक सुधार हुन्छ र व्यवसाय बन्द गर्नुपर्ने अवस्था नआउनेमा आशावादी देखिए पनि रोशनको पीडा बर्सेनि उस्तै छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तराईसँग जोड्ने दमक–चिसापानी–रवि (फाल्गुनन्द मार्गमा) वर्षाका कारण सवारीसाधन चल्न कठिन हुन थालेपछि पश्चिमी इलाम र दक्षिणी पाँचथरका बासिन्दा प्रभावित भएका हुन् । सडकमा नियमित सवारीसाधन नचल्दा सर्वसाधारणले आउजाउमा सास्ती खेप्नुपर्ने बाध्यता छ । उपभोग्य सामग्री ढुवानी गर्ने ट्रक र ट्रयाक्टरसमेत चल्न कठिन भएको छ ।

यातायात सेवा करिब बन्द अवस्थामा छ । घाम लागेका बेला एकाध सवारीसाधन चले पनि यात्रुलाई सेवा दिने र उपभोग्य सामग्री नियमित ढुवानी गर्ने साधन भने चल्दैनन् । दमकबाट लारुम्बा–रवि हुँदै इलाम र पाँचथरका विभिन्न ग्रामीण क्षेत्रमा सवारीसाधन चल्ने गरेका थिए ।

केही दिनयताको वर्षाले कतिपय स्थानमा गाडी चल्न नसक्ने गरी सडक क्षति पुगेको छ । रतुवा खोलैखोला सवारीसाधन चल्ने गरेकाले करिब १६ किमिमा सहज यात्रा गर्न मुस्किल छ । त्यसबाहेकको सडक पनि हिलाम्मे र अप्ठयारो भएको माङ्सेबुङका ज्ञानु केदेम बताउँछन् । ‘लारुम्बा दमकबीचको यातायात नचलेकाले बाक्लो बस्ती भएको लारुम्बामा समस्या देखिएको छ,’ उनले भने, ‘उपभोग्य सामग्री अभाव हुन थालेको छ ।’

लारुम्बाबाट दमक करिब १६ किमि दूरीमा पर्छ । बिर्तामोडबाट दानाबारी र महमाई हुँदै लारुम्बा जोड्ने सडकमा पनि सवारीसाधन चलेका छैनन् । माई नगरपालिकाको महमाई र दानाबारीबीचको माइखोलामा पुल नहुँदा बर्खा लाग्नासाथ सडक अवरुद्ध हुने गरेको छ । दमकबाट नियमित यातायातका साधन नचल्दा लारुम्बासहित चतुरे, पञ्चमीलगायत बजारमा उपभोग्य सामग्री आउन सकेको छैन । स्थानीय व्यपारीहरूले यसअघि नै ल्याएका अत्यावश्यक सामग्री बिक्री गरिरहेका छन् ।

‘डेढ सातादेखि दमकबाट सामग्री आउन नसक्दा उपभोग्य वस्तु अभाव हुन थालेको छ,’ माङसेबुङ ३ का वडाध्यक्ष मइतराज राईले भने, ‘वार्डमा छुट्टिएको सानोतिनो रकमले सडक खुलाउने अवस्था छैन ।’ दमकबाट ४६ किमिको दूरीमा रवि बजार पर्छ । दमक भएर रविसम्म सवारीसाधन नियमित नचलेको दुई साता भएको छ । मोरङबाट धनकुटाको ६ नम्बर बुधबारे भएर रविसम्म सवारीसाधन चलेका छन् । तर लामो दूरी र सडकको अवस्था राम्रो नभएकाले त्यहाँ पनि समस्या देखिएको छ ।

सदरमुकामसँग पश्चिमी गाविसहरूलाई जोड्ने सडक पनि वर्षाले अवरुद्ध छन् । मंगलबारेबाट गजुरमुखी इभाङ हुँदै चतुरेसम्म पुग्ने सडक इभाङसम्म मात्र मुस्किलले सञ्चालनमा छ । ‘यो क्षेत्रको मुख्य समस्या नै सडक व्यवस्थित नहुनु हो,’ गाउँपालिकाका प्रमुख डिकेन्द्र इदिङ्गोले भने, ‘स्थानीय सरकारले गर्न सक्ने सडकलाई प्राथमिकतामा राखेर बजेटिङ गरेका छौं र ठूला योजनाका लागि केन्द्रमा नै प्रस्ताव गरिएको छ ।’ कान्तिपुर दैनिक बाट