काठमाडौं । १५ औं पटकको अनशन जुम्लालाई रोजेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था निरास जनक बन्दै गएको छ । १० दिनदेखि जुम्लामा अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनले अत्यावश्यक औषधिसमेत खान नमानेका कारण अवस्था जटिल बन्दै गएको हो । अहिले संक्रमणबाट बचाउन स्पेसल केयर युनिटमा राखेर निगरानी मात्र गरिएको डा। प्रवीणकुमार गिरीले बताए ।
‘डा केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन प्रतिकूल बन्दै गएको छ, बचाउनका लागि जुनसुकै वेला आइसियू आवश्यक पर्न सक्छ,’ डा। गिरीले भने, ‘तर, जुम्लामा तत्काल यो सम्भव छैन ।’
आइतबारसम्म अलिअलि बोलेका र रेस्टरुमसम्म हिँड्न सकेका डा केसी सोमबारबाट सिकिस्त भएको चिकित्सकको भनाइ छ । उपचारमा संलग्न चिकित्सकले सोमबार केसीको स्वास्थ्य अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेका छन् ।
केसीको स्वास्थ्य रिपोर्ट
-छातीको बीचभागमा अत्यधिक दुखाइ -कमजोरीका कारण चक्कर लाग्ने -शरीरका मांसपेशी बाउँडिने -पिसाबमा किटोन बढी -सेतो रक्तकोषिका क्रमिक रूपमा घट्दै(रगतमा चिनीको मात्रा कम हुँदै -मुटुको चाल तलमाथि -मुटुले काम गर्न बन्द गर्न सक्ने अवस्था
नयाँपत्रिका दैनिकबाट










