काठमाडाैँ । नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार चार सय ५० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि मजदुरको न्यूनतम तलब मासिक ९ हजार ७ सय रुपैयाँ मात्रै थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलबाट सम्पूर्ण रोजगार प्रदायक क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक निर्धारण गरेको हो ।
प्रतिघण्टा तलब ६९ रुपैयाँ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो पटक मजुदरको प्रतिघन्टाको तलब पनि निर्धारण गरेकाे छ। अब मजदुरले प्रतिघन्टा न्यूनतम ६९ रुपैयाँ पाउने छन् । आधारभुत ४३ र महँगी २६ रुपैयाँ तोकिएको छ। दैनिक ज्यालमा काम गर्ने मजदुरको तलब पनि ३ सय ३५ रुपैयाँबाट बढेर ५ सय १६ रुपैयाँ पुगेको छ।
नयाँ कायम भएको न्यूनतम पारिश्रमिका आधारमा नै श्रमिकको सञ्चय कोष १० प्रतिशत, उपदान ८.३३ प्रतिशत र सामाजिक सुरक्षा कोषमा १.६७ प्रतिशत रकम थप गरिएको श्रममन्त्री गोकर्ण विष्टले बताए। यो सबै गर्दा अब श्रमिकको न्युनतम तलव १५ हजार १ सय ४१ रुपैयाँ पुग्ने छ।
पारिश्रमिक वृद्धि अहिलेसम्मकै उच्च भएको मन्त्री विष्टले बताए। यसबाहेक चार्डपर्व खर्च, बिदा बापतको भुक्तानी, सुत्केरी एवम सुत्केरी स्याहार खर्च र स्वास्थ्य एंव दुर्घटना बिमा बापतको रकम पाउने व्यवस्था गरिएको छ।
श्रममन्त्री गोकर्णराज विष्टले अहिलेसम्मकै उच्चतम वृद्धिदरका रुपमा लिइने बताउनुभयाे । कुनै पनि कम्पनीले तोकिएको न्यूनतम पारिश्रमिकभन्दा कम दिएमा सो कम्पनीलाई कारवाही गरिने मन्त्रालयका सचिव यज्ञेश्वर दाहालले बताउनुभयाे ।
उहाँले श्रम ऐन २०७४ को दफा १०६ र १०७ अनुसार मन्त्रालयले प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार, ट्रेड युनियन र रोजगारदाता संगठनको प्रतिनिधित्व हुने गरी एक स्थायी ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन हुने जानकारी दिनुभयाे ।जनता समाचार बाट










