झापा/ बाह्रदशी गाउँपालिका–७ मा रहेको पशुपति आधारभूत विद्यालयका २५ विद्यार्थीलाई हलेसी ट्रेड लिंक बिर्तामोडले सोमबार स्कूल ब्यागसहित पाठ्य सामग्री प्रदान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच हलेसी ट्रेड लिंकका सञ्चालक चुडामणि पौडेल र उनकी श्रीमती रचना पौडेलले त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।

गरीब तथा पिछडिएको समुदायका बालबालिका सो विद्यालयमा अध्ययन गर्ने गरेको र उनीहरुलाई अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यसाथ शैक्षिक सामग्री प्रदान गरिएको सञ्चालक पौडेलले बताए । गोल्छा अर्गनाइजेसनले नेपाल भितर््याएको बजाज टेम्पोको आधिकारिक बिक्रेता रहेको हलेसी ट्रेड लिंकले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने उनले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुद्रप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइराला, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । बढ्दो सवारी दुर्घटनाका विषयमा समेत अभिभावक र विद्यार्थीलाई ट्राफिक सचेतना प्रशिक्षण गरिएको थियो । सवारी दुर्घटनाका विषयमा प्रहरी नायव उपरीक्षक कोइराला र ट्राफिक प्रहरी प्रमुख राईले सहजीकरण गरेका थिए ।