तेह्रथुम, असार २७ । म्याङलुङ नगरपालिका–६ सुर्केका ७४ वर्षीय दलप्रसाद लिम्बु मंगलबार बिहान खाना खाएर नजिकैको जिरिखिम्ती बजारसम्मको यात्रामा निक्लिए । पैदल हिँड्दा १० मिनेटको जिरिखिम्ती बजार पुग्न लिम्बुलाई एक घण्टा लाग्यो ।

उनी एक घण्टामा जसोतसो गन्तव्य त पुगे तर उनको शरीरभरी हिलो बोकेर । ती वृद्धलाई देख्नेले सोधे ‘बाजे हिलोमा पौडी खेलेर आएको हो ?’ उनी नाजवाफ भए । वृद्धलाई रिस उठ्यो प्रश्न सोध्नेसँग होइन बिकास गर्छु भनेर चुनाव जितेका नेताहरु सम्झेर

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सदरमुकाम जोड्ने एकमात्र म्याङलुङ–बसन्तपुर सडकखण्ड पुरै हिलाम्मे भएपछि दलप्रसाद जिरिखिम्ती बजारसम्म पुग्दा सयौँ पटक हिलोमा चिप्लिएर लडेका थिए । सडकमा हिलैहिलो भएकाले दलप्रसाद जस्तै एक दर्जन बढी नागरिक दैनिक हिलोमा लड्ने गरेका छन् ।

हिलाम्मे सडकको डिलमा हिँड्ने क्रममा चिप्लिएर लडेका वृद्धको फोटो अहिले सामाजिक भाइरल भएको छ । हिलोमा पौडी खेलेजस्तोे वृद्धको फोटो अनलाइन र फेसबुकमा हेरेका नागरिकले तेह्रथुमको प्रतिष्ठा गुमेको टिप्पणी गरेका छन् ।

जिल्लाका जनप्रतिनीनिधि, नेता र सांसदहरुले जिल्लाको विकासमा ध्यान नदिएको गुनासो स्थानीयले गरेका छन् । टिप्पणीकर्ताहरुले प्रधानमन्त्री केपी ओली जन्मेको जिल्लाको सडकको हालतले देशकै प्रतिष्ठा गुमेको प्रतिक्रिया समेत दिएका छन् ।

यो सडकखण्डको विभिन्न भाग ४ फिट भन्दा बढी हिलो भएपछि सवारी साधन र पैदल यात्रीहरुलाई समस्या भएको छ । हिलाम्मे सडकमा बालबालिका, विद्यार्थी र वृद्ध वृद्धाहरुलाई बढी सास्ती भएको स्थानीय घनश्याम परियारले जानकारी दिए ।

सडकमा ५ वर्षअघि लगाइएको ओटासिल भत्किएपछि अहिले सडक हिलाम्मे हुँदा जिल्लाबासीलाई सास्ती भएको हो । वसन्तपुरदेखि म्याङलुङ्गसम्मको २६ किलोमिटर सडक निर्माण भएको ३० वर्ष बिते पनि वर्षको ६ महिना मात्र सवारी चल्ने गरेको छ ।

सडक हिलाम्मे भएपछि धरान, धनकुटा, बसन्तपुर हुँदै म्याङलुङसम्म चल्ने यातायातका साधन बाटोमै अड्किँदा यात्रु अलपत्र पर्ने गरेका छन् । करोडौँ रुपैयाँ खर्च गरेर हालिएको ओटासिलको अहिले चिनोसमेत भेटिन्न ।

सडक मर्मतको जिम्मेवारी पाएको मध्यपहाडी लोकमार्गका इन्जीनियर सुरेश तुम्बाहाङफेले मौसमका कारण सडक हिलाम्मे भएकोले मर्मत गर्न नसकिएको बताए । उक्त सडक तीन खण्डमा मर्मत गर्न टेन्डरसमेत परिसके पनि ठेकेदारहरुले कामदार र निर्माण समाग्री अभावको बहानामा काम गर्न नसकेको बताएका छन् । अन्नपूर्ण पोस्ट बाट