काठमाडौं – नेपालका युवा वैज्ञानिक राजकुमार थापाले चालसम्बन्धी न्यूटनको तेस्रो नियममा त्रुटि भएको अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउँदा पनि नेपाल सरकारबाट सहयोग नभएको गुनासो पोखेका छन् ।

बिहीबार रिपोर्टर्स् क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सरकारको तर्फबाट आफ्नो अभियानप्रति चासो नरहेको गुनासो पोखे । उनले करिब दुई वर्ष पहिले रिपोर्टर्स क्लबमै आएर पत्रकार सम्मेलन गरी चालसम्बन्धी न्यूटनको तेस्रो नियममा त्रुटि भएको दाबी गरेका थिए । तर नेपाल सरकार तथा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले यसप्रति चासो नलिएको सुनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार, ‘कुनै दुई वस्तु सम्पर्कमा रहँदा दिने क्रिया र प्रतिक्रिया वस्तुको संरचना र अवस्थामा भर पर्दछ ।’ उनको यो सिद्धान्तलाई अष्ट्रियाको भियनामा कन्फेरेन्स सिरिजद्वारा आयोजित हालै सम्पन्न भएको Pure and Applied Physics 2018 नामक सम्मेलनमा आफ्नो नयाँ सिद्धान्त स्वीकार भएको थापाको दाबी छ ।

आफूले प्रतिपादन गरेको नयाँ सिद्धान्तले नेपाललाई विश्वसामू चिनाउन सफलभएको पनि उनको जिकिर छ । आफूलाई यस्तो अवस्थामा नेपाल सरकारको तर्फबाट भने अलिकति पनि सहयोग नपाएको थापाले बताए ।

युवा वैज्ञानिक थापाले भने, ‘मेरो यो अभियानलाई अन्तर्राष्ट्रिय जगतले सहयोग गरेको छ । तर मैले नेपाल सरकार समक्ष सहयोगको लागि ढोका ढकढकाउँदा पनि बेवास्ता गर्यो । मेरो यो गुनासो शिक्षामन्त्रीसमक्ष पनि पुगेको छ, तर कोष नभएर विषय दिन नसकेको भनेर सहयोग पाइनँ, एकदमै दुःख लागेको छ ।’

थापाले अघि थपे, ‘मैले करिब दुई वर्ष अघिदेखि अनुसन्धान जारी राखेको थिएँ र पहँुच भएको मान्छेबाटे सहयोग भएन र पूर्ण रुपमा सफल भएन । र घरबाट बसेर मिडियाको सहयोग लिनुपर्यो ।’

नेपाल सरकारको यदि सहयोग भएको खण्डमा उनले नयाँ सिद्धान्तको पनि प्रतिपादन गर्ने नयाँ घोषणा गरे । यसैक्रममा प्रकाशको माध्यमबाट रोग निको पार्ने सिद्धान्त ल्याउन खोजेको बताउँदै यसको निम्ति सरकार लगायत विभिन्न व्यक्ति, संघ तथा संस्थासमक्ष सहयोगको अपिल गरेका छन् ।

यसैक्रममा राजकुमार थापाका सहयोगी मोहन विकले देशको विकासका लागि परेका यस्ता व्यक्तिलाई सरकारले सहयोगको वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले भने,‘नेपाललाई नयाँमोड र सिद्धान्त दिने यस्तो सिर्जनशील युवा वैज्ञानिकलाई सरकारले सहयोग गर्नुपर्छ, अनि मात्र विश्वमा चिनाउन सक्छ ।

त्यसैगरी राष्ट्रवादी विद्यार्थी संघका सचिव अनिल थारुले सरकारको पर्याप्त सहयोगको अभावले वैज्ञानिक विद्यार्थीहरु भविष्य नभएर विदेसिनुपर्ने वातावरण भएको बताए । यसको लागि उनले सरकारलाई दबाब दिन आग्रह गरे । उज्यालो अनलाइन बाट साभार