दमक,२९ असार प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गौरादह– बैगुन्धुरा जोड्ने अलपत्र अवस्थामा रहेको कृष्णे पुलको अवलोकन गर्नुभएको छ ।
पुल निर्माण कार्य शुरु भएको करिब ७ वर्ष बितिसक्दा समेत निर्माण कार्य सम्पन्न नभएको भन्दै चौतर्फी गुनासो बढेपछि मन्त्री कार्की र गौरादह नगर प्रमुख रोहित कुमार शाह सहितको टोलीले पुल निर्माणको अवलोकन गरेको हो । अनुगकनका क्रममा उहाँहरुसंग स्थानीयले ठेकेदारको लापरबाहीका कारण पुल निर्माणमा ढिलाई हुदाँ सर्वसाधारणले दुखः पाएको गुनासो राख्नुभएको थियो । नगरबासीहरुको गुनासो सुनेपछि मन्त्री कार्कीले पुल समयमै निर्माण सम्पन्न गर्नका लागी आफ्नो तर्फबाट यथाशिघ्र पहल गर्ने आश्वासन दिनुभएको छ ।
कृष्णे खोलामा रहेको कज्वे पुल यस वर्षको वर्षातमा पूर्ण रुपमा भत्किएको छ । पूरानो पुल भत्किनु र निर्माणाधिन अवस्थामा रहेको पुल अलपत्र अवस्थामा छोडिएपछि खोलामा बाढी आउँदा नगरबासीहरुलाई आवतजावतमा सास्ती झेल्दै आएका छन् । खोलामा रहेको पुल भत्किएपछि व्यापार व्यवसायमा कमी आउनुका साथै गौरादह –बैगुन्धुराको सम्बन्ध समेत बिच्छेद भएको छ । सोही सडक भएर सञ्चालन भईरहेको सार्वजनिक तथा अन्य सवारीका साधनहरु ग्वालडुब्बा घुमेर सञ्चालन भइरहेका छन् । २०६८ सालमा सगरमाथा जेभी निर्माण सेवाले उक्त पुल निर्माण कार्यको ठेक्का लिएको थियो । करिब ३ वर्षमा निर्माण सम्पन्न गर्ने जिम्मा लिएर काम सम्पन्न नगरि छोडेपछि रौताह निर्माण सेवा कम्पन्नीले कामको जिम्मा लिएको कम्पन्नीका सञ्चालक रमेश पौडेलले बताउनुभयो ।
कम्पन्ीले २०७४ सालमा कामको जिम्मा लिएको र अहिलेसम्म पुलको पिल्लरको जग राख्ने काम सम्पन्न भइसकेकाले असोजबाट निर्माण कार्य शुरु गरि २०७५ चैत्र मसान्त भित्रमा निर्माण कार्य सम्पन्न गर्ने सञ्चालक पौडेलले बताउनुभयो । गौरादह नगरपालिका भित्र रहेका व्यस्त सडकहरु मध्ये गौरादह– बैगुन्धुरा सडक एक रहेकाले सो स्थानमा रहेको कृष्णे खोलाको पुल निर्माण कार्य यथाशिघ्र सम्पन्न गरि नगरबासीहरुलाई यातायातमा सहजता ल्याउनुपर्ने स्थानीय पुष्प ढकालले बताउनुभयो ।










