श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण बिष्टले नेपालले योग्य कामदार जापान पठाउन चाहेकाले सरकारी तहमै सम्झौताको पहल गरिदिन राजदूतलाई आग्रह गरेका छन्। जापानी राजदूत मासामिची सेइगोसँग शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री बिष्टले जापान जाने नेपालीबाट दलालले ठगिरहेकाले त्यो रोकेर नयाँ पहलका लागि आग्रह गरेका हुन्।

उनले अध्ययन, अध्यापन लगायत विभिन्न पेशा व्यवसायमा काम गर्न जाने नेपालीसँग मोटो रकम असुली भइरहेकाले त्यो दुवै देशका सरकार मिलेर रोक्नुपर्नेमा जोड दिएका थिए। जापानमा करिब ८० हजार नेपाली रहेको तथ्य प्रस्तुतगर्दै दलालहरुलाई निरुत्साही र नियन्त्रण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उनले बताएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विगतमा जिटको अन्तर्गत नेपाली प्रशिक्षार्थीहरुलाई जापान पठाउने प्रणालीको नाजायज फाइदा केही मेनपावर कम्पनीले उठाएकाले नयाँ प्रक्रियाबाट कामदार पठाउन नेपाल तयार रहेको मन्त्री विष्टले बताए। उनले प्रशिक्षार्थी कामदार पठाउनु अघि विभिन्न मापदण्डहरु निर्माण गरी पारदर्शी रुपमा कार्यान्वयन गर्ने र दुवै देशका प्रतिनिधिहरु सम्मिलित संयुक्त समितिले त्यसको अनुगमन गर्ने प्रणाली विकास गर्नुपर्ने विषयमा जोड दिएका हुन्।

जापानमा सूचना प्रविधि इन्जिनियर, नर्सिङ स्टाफ, केयरगिभर, मार्केटिङ र सेल्स, लेखापाल तथा होटल र रेष्टुरेन्ट स्टाफजस्ता क्षेत्रमा नेपालीहरुका लागि रोजगारीको सम्भावना देखिएकोले ती क्षेत्रमा नेपाली श्रमिक पठाउने व्यवस्थाका लागि जीटूजी (सरकार-सरकार) तहमा कार्य हुने गरी एमओयुका लागि पहल गर्न राजदूत सेइगोसँग छलफल गरेका हुन्।