कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध छिट्टै हटने बताएका छन्। रुपन्देहीको नापी कार्यालय भैरहवा र तिलोत्तमा नगरपालिकाले शनिबार आयोजना गरेको गाउँब्लक जग्गाधनी प्रमाण पूर्जा बितरण कार्यक्रममा बोल्दै मन्त्री खनालले नीतिमा कित्ताकाट रोकिए पनि व्यवहारमा नरोकिएकाले फुकुवा गर्ने तयारी भइरहेको बताएका हुन्। विस्तृत अध्ययन र उपयुक्त नीति बिनै कित्ताकाटमा मात्रै रोक लगाउदा त्यसले समाजमा विकृति र पारिवारिक बिखण्डन ल्याउने खतरा बढेको भन्दै उनले एक महिनाभित्रै मन्त्रालयले नयाँ भुमी नीति बनाएर कित्ताकाटको समस्यालाई हल गर्ने बताए।

‘कित्ताकाट नीतिमा रोकिएपनि व्यवहारमा रोकिएन। त्यसैले यसको गाँठो फुकाउन जग्गा व्यवस्थापन सम्बन्धी आवश्यक नीति तयार गर्दैछौं र एक महिनाभित्रै यो विषयलाई टुंग्याउने छौं’, कृषि मन्त्री खनालले भने। कृषि भूमिको संरक्षण हुनेगरी कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गरिने उनको भनाई छ। खेतीयोग्य जमिन मासीदै गएको भन्दै मन्त्री खनालले त्यसलाई रोक्न सरकारले स्थानीय तहमार्फत भू–उपयोग नीतिलाई कार्यान्वयनमा ल्याउने पनि जानकारी दिए। स्थानीय तहलाई भू–उपयोग योजना बनाएर खेतीयोग्य जमिनको संरक्षणमा लाग्न निर्देशन दिँदै मन्त्री खनालले गाँउब्लक जग्गा सँगै उखडा, बालबिटौरी जस्ता पुर्जाबिहिन जग्गाको पुर्जा बितरण पनि छिट्टै गरिने बताए।

रुपन्देहीमा खेतीयोग्य जमिन मासिने क्रम निकै बढी रहेकाले यसलाइ रोक्न स्थानीय तह लाग्नुपर्नेमा जोड दिए।प्रदेश सांसद दधिराम न्यौपानेले कित्ताकाटका नाममा मालपोत र नापी कार्यालयमा घुसखोरी प्रबृत्ति मौलाएको भन्दै यसलाई रोक्न सरकार गम्भीर हुनुपर्ने बताए। नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले कित्ताकाटले निम्त्याएको समस्या र अनियमितताका सम्बन्धमा विभाग गम्भिर रहेको भन्दै रुपान्तरित भएर काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए। तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नगरभित्रको जग्गाको वैज्ञानिक व्यवस्थापनमा नगरपालिका क्रियाशील रहेको बताउँदै भूउपयोग नीति कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड