काठमाडौं–नेकपाका केन्द्रीय सचिवालय सदस्य बामदेव गौतमले अबको दुई वर्षभित्र नेकपासँग ६० लाख सदस्य हुने दाबी गरेका छन् ।

रातोपाटीलाई दिएको एक विशेष अन्तर्वार्तामा नेता गौतमले अब नेकपाका सबै केन्द्रीय सदस्य शिक्षक भएर गाउँ जाने र उनीहरुले जनतालाई पढाएर पार्टी सदस्य बनाउने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘हाम्रो केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय छ । यी मध्ये डेढसय केन्द्रमा बस्नुहुन्छ । अरु सबै स्थानीय तहमा इन्चार्ज भएर जाँदैछन् । अबको दुई वर्षमा ६० लाख नेकपाको परिवार हुनेछन् । अधिकांश परिवारमा नेकपाका सदस्य हुनेछन् ।’ कसरी सम्भव होला भन्ने प्रश्नमा गौतमले भनेका छन्, ‘यो चमत्कार नै हुन्छ ।’

नेता गौतमले आफूले नेकपामा गुटबन्दी नगर्ने बताएका छन् । विगतमा उनीमाथि गुटबन्दी गर्ने आरोप लागेको थियो । ‘नेकपामा म गुटबन्दी गर्दिनँ । गुटबन्दी गर्नेलाई पनि देखिसहन्न । गुटबन्दीले हामी समाप्त हुन्छौँ । देश समाप्त हुन्छ । गुटबन्दी भयो भने पार्टी समाप्त हुन्छ । पार्टी समाप्त भयो भने सबै समाप्त हुन्छ । नेपालको अस्तित्व यो पार्टीमा निहित छ । यस्तो बुझ्ने मान्छेले गुटबन्दी गर्नहुन्छ ?’ गौतमले भनेका छन् ।

नेता गौतमले पार्टी एकता हुने दूरगामी महत्वको निर्णय आफूले मिडियाबाट थाहा पाएको पनि गुनासो गरेका छन् । ‘अहिले पनि म इमान्दारिताकासाथ भन्छु । पार्टी एकता घोषणाको कुरा पनि मैले पहिला थाहा पाएको होइन । मिडियाबाटै थाहा पाएको हुँ । तर, मेरो समर्थन छ भनेर भनेको हुँ ।’ गौतमको भनाइ छ ।

नेता गौतमले नेकपामा नेताहरुको उमेरहद नतोक्नु राम्रो पक्ष भएको बताए ।

‘बौद्धिक क्षमतालाई सीमित गर्ने षड्यन्त्रपूर्ण काम हो । यसो गर्न हँुदैन । यो त केही व्यक्तिलाई ७० वर्षको उमेरमै गेटआउट गर्न सकियो भने त्यहाँ बलजफ्ती गएर बस्न पाइन्छ भन्ने केही मानिसको मोटो सोचाइ हो’ नेता गौतमले भनेका छन्, ‘बैठकमा यो कुरा योगेश भट्टराईले मात्रैले उठाएका हुन् । बस्ने बेला उनले मेरो मुखमा हेरे अनि टाउको निहुर्याए ।’ रातो पाटी बाट साभार