सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको शोकमा नगरपालिकाले दुई दिन शोक बिदा दिने निर्णय गरेको छ । उपमहानगरको आकस्मिक कार्यपालिका बैठकले शोक बिदासँगै नगर कार्यपालिकामा राष्ट्रिय झण्डा एक सातासम्म झुकाउने निर्णय गरेको नगरपालिकाका प्रेस संयोजक योगेशबाबु काफ्लेले जानकारी दिए । श्रद्धाञ्जली अर्पण गर्न उपमहानगरपालिकामा बुधबारदेखि सोमबारसम्म शोक पुस्तिका राख्ने, दाहसंस्कार गरेको भोलिपल्ट श्रद्धाञ्जली सभाको आयोजना गर्ने, नगर कार्यपालिकाको कार्यालयमा सात दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने, शव अन्त्येष्टि गरेको दिन र भोलिपल्ट उपमहानगरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यसैबिच सुब्बाको बिहिबार अन्त्येष्टि गरिने भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत मेयर सुब्बाको मंगलबार दिउसो निधन भएको थियो । उनको शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ ।
आफन्तहरु ह्ङकङ तथा युकेमा रहेका कारण सुब्बाको दाहसंस्कार विहीबार गरिने परिवारिक स्रोतले जनाएको छ । छातीको इन्फेक्सनबाट ग्रसित उनको केही समय अघि नै मृगौला प्रत्यारोपण गरिएको थियो । असार १४ गते भएको स्थानीय चुनावमा नेकपा एमालेका तर्फबाट प्रत्यासीभन्दा दोब्बर मतले विजयी बन्दै धरान उपमहानगर पालिकाको प्रमुख बनेका थिए । तेह्रथुमको खाम्लालुङमा २०२३ साल माघ १८ गते जन्मिएका सुब्बा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए ।
तेह्र वर्षको उमेरमा अध्ययन गर्न झापाको गोलधाप झरेका उनी पञ्चायती व्यवस्थाविरुद्धको विद्यार्थी आन्दोलनदेखि नै राजनीतिमा सकृय रहे । त्यस्तैगरी २०३७ सालमा उच्च शिक्षा अध्ययन गर्न धरान आएका सुब्बा त्यसपछि धरानका स्थायी बासिन्दा मात्र नभई कम्युनिष्ट राजनीतिमा सक्रिय हुदै २०७५ असार १४ गते मेयरमा निर्वाचित भए ।
राजनितिकै क्रममा सुब्बा २०४० सालमै अनेरास्वयवियु धरान नगर कमिटी सदस्य समेत हुदै २०४७ सालपछि भने युवा संघको राजनीतिमा सक्रिय रहि तत्कािलन प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सकृय भई संघको नगर कमिटि,जिल्ला कमिटि संयोजक हुदै २ पटक जिल्ला अध्यक्ष, २ पटक केन्द्रीय सदस्य पनि बनेका थिए ।










