नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। सरकार चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि अनशनरत डा। गोविन्द केसीको मागप्रति गम्भीर नभएको भन्दै संघ आन्दोलनमा उत्रिएको हो। संघले भोलि विहीबार देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै र दिउँसो १ बजे माइतीघर मण्डलामा डा। केसीको जीवन रक्षाका लागि प्रदर्शन गर्ने जनाएको छ।

‘सरकारले नै बनाएको विज्ञ टोलीले दिएको सुझावअनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने वातावरण तयार गर भन्दा समेत डा। केसीले जीवन त्याग्नु पर्ने परिस्थिति सिर्जना भयो भने त्यो भन्दा दुर्भाग्य केही हुन सक्दैन’, संघले भनेको छ– ‘एक दिने बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याउन र सरकारलाई संवेदनशील हुन सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संघले बुधबार एक विज्ञप्ति जारी गरी डा केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै वार्ता टोलीको नाममा केसीलाई जबरजस्ती काठमाडौं ल्याउने खेलमा लागेको हो की भनी आशंका समेत गरेको छ।