काठमाडौं, ३ साउन । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अवकाश हुने मिति नजिकिएपछि उनी राजदूत बन्न सक्रिय भएका छन् । क्षेत्रीलाई अवकाशपछि राजदूत बनाउन ग्राण्डी अस्पतालका सञ्चालक एवम् ठेकेदार दिपक कुँवर, विजय श्रेष्ठ, रोशन श्रेष्ठ, अमित साहलगायतको समूह सक्रिय भएको छ । उनीहरुले क्षेत्रीलाई रक्षामन्त्री ईश्वर पोखरेलमार्फत् अमेरिका, चीन, म्यानमार वा बर्मामध्ये एकको राजदूत बनाउन लविङ गरिरहेको स्रोतले जनायो ।

प्रधानसेनापति जस्तो गरिमामय पदमा बसिसकेका विशिष्ट ब्यक्तिले राजदूतमा लोभ गर्नुको पछाडि ठूलै कारण रहेछ । केही दिनअघि सांसद महेश बस्नेतले सेनाभित्र ठूलो भ्रष्टाचार भएको र सेना पारदर्शी नभएको भन्दै गरेको खुलासा गरेका थिए । नेपाली सेनाको इतिहासमा अहिलेको नेतृत्वले जति भ्रष्टाचार अरु बेला कसैले गरेका थिएनन् । भ्रष्टाचार काण्डबाट उम्किन क्षेत्री राजदूत बन्ने योजनामा लागेको स्रोतको दावी छ । वर्तमान संविधान २०७२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशपछि सेनाका अधिकृतहरुको सम्पत्ति छानबिन गर्ने र अकूत सम्पत्ति आर्जन गरेको देखिएमा मुद्दा चलाउन पाउने प्रावधान छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता, सेनाले कमर्सियल चरित्र देखाएको भन्दै आलोचना भइरहेका बेला प्रधानसेनापति पुत्र अभिषेक क्षेत्रीले सेनामा हुने हरेक ठेक्कापट्टामा सक्रिय भएर करोडौं कमाएको भन्दै एकपछि अर्को खबर सार्वजनिक भइरहेका छन् । केही समय पहिले प्रधानसेनापति पुत्र अभिषेकले सिभिल महलमा अन्तर्राष्ट्रिय कपडाको ब्राण्ड ‘जरा’ को आधिकारिक विक्रेता अर्थात् डिलरसिप लिएका थिए, आजको युनाइटेड पोष्ट साप्ताहिकमा समाचार छ । करोडौं खर्चिएर लिएको डिलरसिपमा अभिषेकमा साथी अमित साहलगायत केहि ठेकेदारहरुको लगानी रहेको बताइएको छ । त्यस्तै, कमलादीस्थित काठमाडौं प्लाजाको अगाडि मिठाई पसलसँगै रातारात विशाल महलको निर्माण कार्य भइरहेको छ । उक्त जमिन आफ्ना विश्वासपात्रको नाममा राखेर क्षेत्रीले घरको निर्माण कार्य गरिरहेको स्रोतको दावी छ । हालसालै हेटौंडामा किनेको करोडौंको जग्गा जमिन होस् वा पूर्व अवकास प्राप्त जर्नेल नेपालभूषण चन्दको घर, यी सबै खरिदमा अभिषेकको नाम मुछिएको छ । संसदीय समितिहरुले छानबिन गरेको खण्डमा सेनाभित्र भएको भ्रष्टाचारमा प्रधानसेनापति पुत्र संलग्न रहेको देखिने एक ठेकेदारले बताए । विदेशमा समेत महल खरिद गर्न भ्याइसकेका प्रधानसेनापति पुत्र अभिषेकको आम्दानीको स्रोत के हो ? खोजिनुपर्ने उनको भनाइ छ । शशी भवन र प्रधानसेनापति पुत्रको कनेक्सन प्रधानसेनापति निवास शशी भवनको निर्माण गर्न ठेकेदार यादव कुँवर र दिपक कुँवरले ठेक्का पाएका थिए । काम हुँदै गयो, मुख्य काम सकेपछि बाँकी काम खोस्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीका पुत्र अभिषेक क्षेत्री र उनका पार्टनर सुमित साहलाई दिइयो । काम गरेको विलिङ पनि ठेकेदार कुँवर दाजुभाइ कै कम्पनीबाट गराइयो । हेर्दा ठेकेदारहरुले काम गरेकोजस्तै देखिए पनि नाफा जति सबै प्रधानसेनापतिका पुत्र अभिषेक र उनका पार्टनर सुमितले कमाए ।

सोही कुरा सांसद बस्नेतसम्म पुगेपछि उनले मुखै खोलेर सेनामा भइरहेको भ्रष्टाचारका बारेमा संसदमा बोलेका थिए । उता शशी भवन निर्माणको ठेक्का पाएका ठेकेदार यादव कुँवरसँग पछि ठेक्का खोसिएका बारेमा कसैले जिज्ञासा राख्दा आफैले काम गरेको बताउने गरेका छन् । आर्थिक मामिला हेर्ने संसदीय समितिले सेनामा ब्याप्त भ्रष्टाचार छानबिन गर्ने साहस गरेको खण्डमा शशी भवन निर्माण गर्दाको मात्र नभई विकास निर्माणमा हुने अन्य करोडौं भ्रष्टाचारका पोल खुल्ने केही समय पहिले अवकास पाएका एक जर्नेलको दावी छ ।

त्यसो त, प्रधानसेनापति र उनका छोरा अभिषेकका कारण धेरै पीडित ठेकेदारहरु मिडियामा मुख खोल्न बाध्य भइसकेका छन् । यसअघि राशन सप्लाई गर्ने श्रेष्ठ थरका ठेकेदारले मुखै खोलेर सेनामा भइरहेको भ्रष्टाचार र आफूमाथि भइरहेको अन्यायको विरुद्ध आवाज उठाएका थिए । प्रधानसेनापति पुत्रसँग लिएको मिटरब्याजको रकम समयमै तिर्न नसकेपछि उनका मुख्य–मुख्य शहरमा भएका जग्गाजमिन समेत हत्याउने षड्यन्त्र भएको थियो । सेनाले उनको ठेक्का हत्याएर भुक्तानी समेत नदिएको मुद्दा अहिलेसम्म पनि अदालतमा चलिरहेको छ ।नयाँपेजबाट