झापा । आर्थिक वर्ष २०७४।०७५ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चार करोड ६१ लाख ३४ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ । ट्राफिक नियम विपरित चल्ने सवारी तथा सवारीका चालकलाई कारबाही गर्दै ट्राफिकले करोडौँ राजश्व उठाएको हो ।
यस क्रममा ६४ हजार पाँच सय आठ सवारीसाधन कारबाहीमा परेका छन् । १४ हजार पाँच सय ९४ बस, आठ हजार दुई सय १८ ट्रक, आठ हजार एक सय १८ जीप तथा कार, २१ हजार ६ सय चार मोटरसाइकल, ६ हजार आठ सय १० ट्रयाक्टर र पाँच हजार एक सय ३४ वटा टेम्पो कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।
ट्राफिक प्रहरीले पछिल्ला तीन आर्थिक वर्षमा संकलन गरेको राजश्व मध्ये यो सबैभन्दा बढी हो । यसअघि आर्थिक वर्ष २०७३र०७४ मा तीन करोड १० लाख ६० हजार र आर्थिक वर्ष २०७२र०७३ मा एक करोड ७६ लाख ८१ हजार तीन सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी यामकुमार खड्काले बताए ।
मापसेबाटै १४ लाख ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने एक हजार चार सय ९० जना सवारी चालकलाई कारबाही गरेर १४ लाख ९० हजार रुपैयाँ संकलन गरेको छ । यसक्रममा ३८ ट्रक, ६ बस, एक सय १९ कार तथा जीप, एक हजार एक सय ५१ मोटरसाइकल, ७९ ट्रयाक्टर र ९७ टेम्पो चालक कारबाहीमा परेका छन् ।
मापसेबाट संकलित राजश्व पनि पछिल्लो तीन वर्षकै सबैभन्दा बढी हो । यसअघि आर्थिक वर्ष २०७३र०७४ मा मापसे गरी सवारी चलाउने एक हजार चार सय ५० जना चालक कारबाहीमा परेका थिए । उनीहरुबाट ट्राफिक प्रहरीले १४ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । २०७२र०७३ मा मापसे मार्फत आठ लाख ४३ हजार रुपैयाँ राजश्व उठेको थियो ।
एक सय ७९ दुर्घटना झापामा आर्थिक वर्ष २०७४र७५ मा कुल एक सय ७९ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ । जसमा ३२ बस, २२ ट्रक, ३४ जीप तथा कार, एक सय ३७ मोटरसाइकल, २२ ट्रयाक्टर, सात टेम्पो, १६ साना सवारी तथा एक अन्य गरी दुई सय ७१ वटा सवारीसाधन संलग्न छन् ।
यी दुर्घटनाबाट झापामा यसवर्ष सबैभन्दा बढी एक सय पाँच जनाले ज्यान गुमाए । ८२ पुरुष, १६ महिला र सात जना बालबालिकाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका हुन् । एक सय २५ सख्त घाइते र ८४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको तथ्यांक छ । यसअघि आर्थिक वर्ष २०७३र०७४ मा ८६ र २०७२र०७३ मा ७९ जनाले ज्यान गुमाएका थिए ।
पछिल्ला तीन वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७४र७५ मा सबैभन्दा कम दुर्घटना भएको हो । आर्थिक वर्ष २०७३र०७४ मा एक सय ९१ र २०७२र०७३ मा एक सय ९८ वटा दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७३र०७४ र २०७२र०७३ मा समान दुई सय ९० वटा सवारीसाधन दुर्घटनामा परेका थिए ।
ट्रिपरले लियो ९ जनाको ज्यान झापामा आर्थिक वर्ष २०७४र७५ मा ट्रिपरको ठक्करबाट मात्र नौ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भए । मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउनेहरु ट्रिपरमा गएर ठोक्किने समस्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले बताए । ‘यसरी ट्रिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा जतिजना सवार छन्, ती सबैको मृत्यु भइरहेको छ,’ उनले भने, ‘त्यसकारण राती जिल्लाका ६ स्थानमा मापसे जाँच सुरु गरिएको छ, दिउँसो राडार गनमार्फत् गति मापन गरिँदैछ ।’
ट्राफिकको लक्ष्य दुर्घटना न्यूनीकरण गर्न यस आर्थिक वर्षमा ट्राफिक प्रहरी नयाँ योजनाका साथ अघि बढ्ने बताइएको छ । झापामा ट्राफिक प्रहरीका १५ वटा युनिट छन् । प्रत्येक युनिटले महिनामा दुई वटा जनचेतनामूलक कार्यक्रम गर्ने ट्राफिक प्रमुख राईले बताए ।
मोटरसाइकल ४० तथा अन्य सवारी ६० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा चलेमा कारबाही गरिने उनको भनाइ छ । ट्राफिक प्रहरीले यती बेला जिल्लाका विभिन्न स्थानमा ‘गति सीमित’ लेखिएको बोर्ड लगाइरहेको छ । ‘ओभरस्पिड, इजाजत नभएको, स्वरुप परिवर्तन गरेको, सवारी पञ्जिकृत नगरेको लगायतलाई पनि हामी एक हजार देखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्छौं,’ ट्राफिक प्रमुख राईले भने ।नयाँ पत्रिका










