काठमाडौँ: उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताएका छन् । आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उनले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

'नेपालमै सबै उपचार सस्तो र गुणस्तरीय रुपमा जनताले पाउनुपर्छ', उनले भने, 'निजी अस्पतालले पनि गुणस्तरीय सेवा सस्तो शुल्कमा उपलब्ध गराउनुपर्छ, त्यसका लागि राज्य सहकार्य गर्न तयार छ ।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारी र निजी क्षेत्र मिलेर मात्र नेपालको स्वास्थ्य सेवालाई माथि उकास्न सकिने बताउँदै उनले विपन्न नागरिक गुणस्तरीय सेवा पाउनबाट वञ्चित रहेकाले उनीहरुका लागि स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनु दुवै क्षेत्रको दायित्व भएको उल्लेख गरे।

राज्यको ठूलो हिस्सा रकम उपचारात्मक क्षेत्रमै खर्च भएकाले अब रोग लाग्नै नदिनेतर्फ काम गर्नुपर्ने उपप्रधानमन्त्री यादवको जोड थियो । मुटु तथा नसा रोगीको उपचारमा प्रयोग हुने क्याथल्याब सेवा बिएण्डबी अस्पतालले आजदेखि शुरु गरेको हो । रासस