अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाईते भएका छन् ।
जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेको अवस्थामा पहिरो आउँदा दुईजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको छ ।
घरमुली भक्तबहादुर बुढाको बिहीबार राति ११ बजेतिर सुतिरहेको अवस्थामा घरमाथिबाट एक्कासि पहिरो आउँदा उक्त घटना भएको हो ।
घरमुली भक्तबहादुर, उनकै नाति १३ वर्षीय पारस बुढा र सात वर्षीया नातिनी खिमा बुढा घाइते भएका छन् । घाइतेमध्ये अन्यको अवस्था सामान्य भए पनि खिमाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताउनुभयो ।
मृतकको शव परीक्षण र घाइतेलाई थप उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको छ ।
इलाका प्रहरी कार्यालय गर्खाकोटबाट आज गएको प्रहरी टोलीले चार घण्टा लगाएर दिउँसो साढे एक बजेमात्र मृतकको उद्धार गरेको थियो । –रासस










