विवेकशील साझा पार्टीले स्वास्थ्य र शिक्षालाई उदारीकरणको नाममा निजीकरण गरेर नाफाखोर व्यापारीहरूको हातमा पु¥याउने कार्यमा संलग्न रहेको भन्दै नेपाली कांग्रेसको कडा आलोचना गरेको छ ।
प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले डा. गोविन्द केसीको मागमा आन्दोलन गर्नु पानीमाथिको ओभानु बन्नु मात्र भएको टिप्पणी पनि गरेको छ । केसीको जीवन रक्षाको माग गर्दै विवेकशील पार्टीले बिहीबार विज्ञप्ति निकाल्दै सरकारसँगै कांग्रेस पनि उत्तिकै दोषी रहेको जनाएको छ ।
कांग्रेसले केसीले उठाएका माग पूरा गर्नुपर्ने भन्दै सदन अवरुद्ध गर्दै आएको छ भने सडक आन्दोलनसमेत गरिरहेको छ । सोहीप्रति लक्षित गर्दै सो पार्टीले आफ्नो विज्ञप्तीमा भनेको छ, ‘अहिले नेपाली कांग्रेस पानीमाथिको ओभानो बन्न खोज्नुको कुनै अर्थ छैन । डा. केसीका १५ मध्ये ७ वटा अनसन नेपाली कांग्रेस नेतृत्वकै सरकारको पालामा भएका थिए र सबैभन्दा लामो २३ दिनको अनसन पनि नेपाली काग्रेसकै सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा भएको थियो ।’
विवेकशील पार्टीले नेकपा र कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्वीकार गर्न चुनौतीसमेत दिएको छ । प्रवक्ता सूर्यराज आचार्यले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान स्थिति आउनमा अहिलेका सत्ताधारी दलहरू जति जिम्मेवार छन त्यत्ति नै जिम्मेवार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि छ । उदारीकरणका नाममा कसिलो नियमनविना नै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गरेर त्यसलाई नाफाखोर व्यापारीहरूको हातमा पु¥याउने कार्यमा विगतमा नेपाली कांग्रेसको सरकारको प्रमूख भूमिका थियो ।’
विवेकशीलले केसीको जीवन रक्षा अहिलेको प्रधान विषय भएको उल्लेख गरेको छ । सरकारले केसीका मागप्रति अनुदार बनेर रबैया देखाएको आरोप लगाउँदै भनेको छ, ‘सत्याग्रही डा. गोविन्द केसीको अनसन त्यस्तो विन्दूमा पुगेको छ जहाँ उनको जीवनरक्षा सबैभन्दा प्रधान विषय बनेको छ । समाजवादको एउटा प्रमुख खम्बा नै स्वास्थ्यसेवालाई राज्यको दायित्वको रूपमा ग्रहण गर्नु हो । तर, त्यही मागका लागि १५ पटक अनसन बसिसकेका डा. केसीप्रति आफूलाई समाजवादी भन्ने सरकारले जस्तो रवैया प्रस्तुत गरेको छ, त्यसले अपराधको रेखा छुन आँटेको छ । यसै सिलसिलामा, सरकारले देखाएको दम्भ र अमानवीय बल प्रयोग निन्दनीय छ ।’ जनता टाइम्स बाट










