उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कुनै व्यक्तिलाई राम्रो लाग्दैमा बिना छलफल निर्णय गर्नु गलत हुने बताउनु भएको छ । उहाले डा. गोविन्द केसीका माग राम्रो भए छलफलबाट टुंगोमा पु¥याउनु नै लोकतान्त्रिक विधी भएको बताउनु भएको हो ।

विराटनगर विमानस्थलमा संचारकर्मीसग कुरा गर्दै उहाले भन्नुभयो,‘डा. केसीलाई कुनै विषय राम्रो लाग्दैमा बिना छलफल दबावमा निर्णय गर्नु गलत हुन्छ र लोकतन्त्रको विरुद्ध हुन्छ ।’ मन्त्री पोखरेलले देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश जस्ताको त्यस्तै ल्याउनु पर्ने माग गलत भएको समेत प्रष्ट पार्नुभयो । ‘हिजोको अध्यादेशलाई अहिले कतिपय विषयहरुमा संशोधन र परिमार्जन गरेर विधेयकको रुपमा ल्याएका हौं र त्यसमा भएका राम्रा र नराम्रा पक्षको बारेमा सांसदहरुमाझ छलफल हुन्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संसदले सबै कुरोको फैसला गर्ने भन्दै उनले विधेयक गलत भए प्रक्रियाबाट टुंगिनु पर्ने बताए । ‘कसैको आदेश र फरमानले राज्य व्यवस्था चल्न सक्दैन, कुनै एक व्यक्तिले भनेको कुरो मान्दै गयौं भने देश कहाँ पुग्छ,’ पोखरेलले भने, ‘संसदमा विधेयकमाथि छलफल गरेर गलत विषयहरुलाई सुधार गर्न सकिन्छ तर त्यो ल्याउनै पाउँदैनौं, संसदमा प्रस्तुत गर्न पाउँदैनौं भन्नु नै अधिनायकवाद, सर्वसत्तावाद हो ।’ संसदमा छलफलको क्रममा अल्पमत र बहुमत हुन सक्छ तर प्रतिपक्षले ल्याएको उत्कृष्ट संशोधन अल्पमतमा परेपछि जनतामा लग्नुपर्ने उहाले बताउनु भयो ।

मन्त्री पोखरेलले केसीलाई जुम्लाबाट राजधानीमा ल्याउन लाग्दा गोली चलेको भन्ने खबर झुटो भएको बताउनु भयो । ‘प्रतिष्ठानमा गोली चलेको समाचार कुन संचारमाध्यमले बाहिर ल्यायो त्यो गलत, दुखद र शतप्रतिशत झुटो हो,’ उहाले अगाडी भन्नुभयो,‘डा. केसीलाई अपहरणको शैलीमा बल प्रयोग गरेर नभई जीवन रक्षाका लागि काठमाडौं ल्याइएको हो । कुनै चिकित्सकलाई समातेर लगेको भन्नु पनि वकवास कुरो हो, उहाँहरुलाई बोलाएर छलफलका लागि लगिएको हो ।’ पोखरेलले भन्नुभयो । उहाले डा. केसीलाई कुनै राजनीतिक स्वार्थको कब्जामा जानुबाट बचाउनु अत्यन्तै जरुरी भएको बताउनु भयो । जनता टाइम्स बाट