डाक्टर गोविन्द केसीका समर्थक र प्रहरीबीच झडप भएको छ । राजधानीको नयाँ वानेश्वरमा केसीको समर्थनमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको हो ।
झडपमा घाइते तरुण दलका अध्यक्ष जीतजंग वस्नेत झडपमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले हानेको ढुंगा लागेर प्रहरी इन्सपेक्टर खेम नेपाल घाइते भएका छन् । उनको नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
माइतीघरबाट प्रदर्शनकारी नयाँ वानेश्वरतर्फ अघि बढ्दै गर्दा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडप हुन पुगेको हो । यस्तै प्रदर्शनकारीले तीन वटा सरकारी गाडी र एक नीजि गाडी पनि तोडफोड गरेका छन् ।
यसैबीच चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था विग्रदै गएको भन्दै विभिन्न अधिकारवादी संघ संस्था लगायतले अर्को प्रर्दशन पनि गरेका हुन् । सो प्रदर्शन भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताइएको छ ।
डा केसीका समर्थकले नयाँ बानेश्वरस्थित इन्द्रेणी फुड्ल्यान्डमा तोडफोड गरेका छन् । यसक्रममा तीनवटा गाडीका साथै होटेलका सिसा फुटेर एक कर्मचारी घाइते भएको संचालक बिष्णु श्रेष्ठले बताए ।
प्रर्दशनमा लेखक, वकिल, कलाकार र दलका यूवा नेताहरु सहभागी भए । प्रदर्शनमा पूर्व प्रधानन्यायधीश सुशीला कार्की, अधिकारकर्मी कृष्ण पहाडी, त्रिविका पूर्वउपकुलपति डा केदारभक्त माथेमा, अभिनेत्री तथा नयाँ शक्तिकी नेतृ करिस्मा मानन्धर, हिसिला यमी, कांग्रेस नेता गगन थापा, अभिनेत्री मनिषा कोइराला, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, विवेकशिल साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, साहित्यकार खगेन्द्र संग्रौला, राजनीतिक विश्लेषक श्याम श्रेष्ठलगायत सहभागी थिए ।










