धरान । धरान उपमहानगरपालिकाका दिवङ्गत मेयर तारा सुब्बाको पार्थिव शरीरमाथि अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । दशौँ हजार मानिसको उपस्थितिमा धरान–१९ स्थित हरियाली सामुदायिक वनमा मौलिक लिम्बू समुदायको रीतअनुसार अन्तिम संस्कार गरियो ।

दिवङ्गत मेयर सुब्बाको पार्थिव शरीरमाथि सङ्घीय सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल राष्ट्रिय झण्डा ओढाई सम्मान व्यक्त गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीको झण्डासँगै लोकतान्त्रिक लिम्बू महासङ्घको झण्डा ओढाई स्वर्गीय मेयरको सम्मान गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्तिम श्रद्धाञ्जलीमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, वन, वातावरण तथा पर्यटन मन्त्री जगदीश कुसियत, नेकपा स्थायी समिति सदस्य तथा प्रदेश १ संयोजक भीम आचार्य, नेकपा सचेतक भानुभक्त ढकाललगायत प्रदेशका मन्त्री तथा सभासद्को उपस्थिति थियो ।

प्रदेश १ का विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, उपसचिव र सह–सचिवस्तरका कर्मचारीले पनि मेयर सुब्बालाई श्रद्धाञ्जली व्यक्त गरेको नेकपाका सुनसरी जिल्ला संयोजक रमेश बस्नेतले जानकारी दिए ।