काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘राणा र पञ्चायतविरुद्ध लडेका प्रजातन्त्रवादीहरू कम्युनिस्टविरुद्ध लड्न तयार रहेको’ बताएका छन्। ३६ औँ वीपी स्मृति दिवसका अवसरमा आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रममा देउवाले सरकार एकदलीय सर्वसत्तावाद लाद्न खोजिरहेको दावी गर्दै त्यसविरुद्ध लड्न आफूहरू तयार रहेको बताए।
‘राणा शासन र पञ्चायती व्यवस्थाविरुद्ध लडेका हामीहरू कम्युनिस्टसँग लड्न परे लड्छौँ’, पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले भने।
शान्तिपुर्ण विरोध गर्न पाउने जनताको अधिकार रोक्नका लागि काठमाडौमा विभिन्न क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेर पहिलो पल्ट जनताको अधिकार कुण्ठित पार्ने काम गरेको भन्दै उनले एकदलीय तानाशाही सर्वसत्तावादी शासन विरुद्ध एकजुट हुन कार्यकर्तालाई निर्देशन दिए ।
प्रजातन्त्र विरोधी, मानवअधिकारविरोधी सरकारको निर्णयको कडा प्रतिकार गर्नुपर्नेमा उनको जोड थियो ।
कम्युनिष्टहरुलाई विपिले पहिले नै चिनेको तर आफुहरुले अहिले मात्रै चिन्दै आएको भन्दै उनले जनताको खिलाप र प्रजातन्त्रको खिलापमा स्थापना गर्न खोजिएको एकदलीय सर्वसत्तावादी शासनको कडा प्रतिवाद गर्नुपर्ने बताए ।
‘एकलौटी निर्णय गरेर जनताको शान्तिपूर्ण बिरोध गर्ने अधिकारलाई रोक्न सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ’, देउवाले भने, ‘यो अप्रजातान्त्रिक हो । उनीहरु जनताको लागि होइनन् भन्ने यसबाट पुष्टि हुन्छ ।’
‘उनीहरुले एकदलीय तानाशाही, सर्वसत्तावादी शासन स्थापना गर्न खोजका छन्,’ सभापति देउवाले अघि भने, ‘उनीहरुले बोल्न दिँदैनन् । लेख्न दिँदैनन् । त्यसैले उनीहरु जनताका लागि होइनन् ।’ ‘हामीले अहिलेसम्म कम्युनिष्टलाई चिन्न सकेनौं’, उनले भने, ‘आज जुलुस गर्न नदिनेले भोलि लेख्न र बोल्न दिँदैनन्।’










