६ साउन – नेपाल प्रहरीले शान्तिपूर्ण रूपमा गरिने कार्यक्रमलाई सुरक्षा प्रदान गरिने भन्दै कानुनको उलंघन हुने क्रियाकलापमा संलग्न नहुन आग्रह गरेको छ । शनिबार बानेश्वरमा तरूण दलले गरेको प्रर्दशनमा प्रहरी हस्तक्षेप भएका समाचार सार्वजनिक भएपछि प्रहरीले कानुनको पालना तर्फ सर्वसाधरणाई सचेत गराएको हो ।
काठमाण्डु प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले संयमित भएर आफ्ना गतिविधि संचालन गर्न गराउन सबैसँग आग्रह गरे । प्रर्दशनकारीले प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि बचाउका लागि अश्रुग्यास प्रहार गर्न बाध्य भएको उनले स्पष्ट पारे ।
प्रहरी संगठन सधै जनताको जीउ धनको सुरक्षामा दत्तचित्त रहने भन्दै उनले नागरिक सुरक्षाको प्रतिवद्धता जनाए ।
शनिबार तरुण दलले राजधानीमा गरेको प्रर्दशनमा प्रहरी दमन नभएको पनि उनले स्पष्ट पारे । वानेश्वरको निषेधित क्षेत्र नतोड्न प्रहरीले गरेको अनुरोधलाई प्रर्दशनकारीले अटेर गरेपछि भिडलाई तितरवितर पार्न २३ राउण्ड अश्रुग्यास प्रहार गरिएको उनले बताए ।
शनिबार राजधानीमा तरुण दलले गरेको प्रर्दशनमा प्रहरीसँग झडप हुँदा प्रहरी तर्फका ११ जना र प्रर्दशनकारी तर्फ तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जन बढी घाईते भएका थिए ।










