नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो विदेश भ्रमण रद्द गरेका छन् । आइतबारदेखि हुने भनिएको ७ दिने विदेश भ्रमण देउवाले अन्तिम समयमा आएर रद्द गरेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रमपछि देउवाले विदेश भ्रमण रद्द गरेको काँग्रेले जनाएको छ ।

काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा केहि दिन यता विकसित राजनैतिक परिस्थितिलाई मध्यनजर राखी देउवाले आफ्नो ७ दिनको विदेश भ्रमण स्थगित गरेको उल्लेख छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देउवा जापान र सिंगापुर भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थानगर्ने कार्यक्रम थियो । देउवाले शतिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी अनसनरत डा.गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका थिए । वार्ता नगरे, आन्दोलनमा दमन गरे प्रतिकार गर्ने देउवाको चेतावनी थियो ।

पछिल्लो समय डा.केसी प्रकरणलगायतका विषयमा विपक्षी दल काँग्रेसले सडक र सदनमा विरोध गरिरहेको छ । शनिबार मात्रै काँग्रेस कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप भएको थियो ।

सरकारी वार्ता टोलीले डा. गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेपनि वार्ता हुन सकेको छैन । यसबीचमा वार्ता टोलीले तीन पटक डा केसीका पक्षसँग वार्ता गरिसकेको छ ।

वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शनिबार विज्ञप्ति जारी गर्दै डा. केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गरेका थिए ।

सरकारले असार ३२ गते शिक्षा सचिव बरालको संयोजकत्वमा डा केसीका पक्षसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको थियो । डा. केसी २३ दिनदेखि आमरण अनसनमा छन् ।

जुम्लामा अनसन बसिरहेका उनलाई सरकारले जीवनरक्षाको लागि भन्दै केही दिनअघि मात्र काठमाडौँ ल्याएको थियो । डा. केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसन बसिरहेका छन् ।

केसीको आन्दोलनलाई प्रतिपक्षी काँग्रेसले राजनीतिक रङ दिएको आरोप लागिरहेको छ । दैनिक नेपाल बाट